आन्दोलन चर्किएपछि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा
![आन्दोलन चर्किएपछि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा](https://www.himalkhabar.com/uploads/posts/800X600/Biratnagar_Bazar_view_1649403201.png)
कोशी नामकरणको विरोधमा आन्दोलन चर्किन थालेपछि प्रदेश राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना प्रकाशित गरी आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो। मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्म निषेधाज्ञा लागू गरिएको जनाएको छ।
स्थानीय प्रशासनले प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिणमा जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको तीन सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको छ।
यो क्षेत्रभित्र कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना लगायतका कार्यक्रम गर्न नपाइने जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लङ्घन गरिएमा कारबाही गर्ने चेतावनी दिएको छ।
प्रदेशको नाम कोशी राखेकोमा विरोध गर्दै आन्दोलन चलिरहेको छ। पहिचान पक्षधरले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गरिरहेका छन्।
आन्दोलनका क्रममा एक जनाले ज्यान गुमाइसकेका छन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/social/Biratnagar.jpg)