संसद्मा प्रश्न- पशुपतिको जलहरी सुन कि पित्तल?
![संसद्मा प्रश्न- पशुपतिको जलहरी सुन कि पित्तल?](https://www.himalkhabar.com/uploads/posts/800X600/uml_parliament_(3)_1685089422.jpg)
पशुपतिनाथको मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भनेर प्रतिनिधि सभाको बैठकमा प्रश्न उठेको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेकपा (एमाले)का सांसदले नाराबाजी गरेपछि ‘जलहरी सुन कि पित्तल’ भन्ने विषय झन् चर्को बनेको छ। बैठक शुरू हुने बित्तिकै एमाले सांसदहरूले आफ्नो आसनबाट उभिएर विरोध जनाए।
त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए। सभामुख घिमिरेले भने, “माननीय सदस्य पदम गिरी, के हो? कुरा राख्नुहोस्।”
एमाले प्रमुख सचेतक गिरीले भने, “अस्ति मात्रै, जेठ १० गते लेखनाथ दाहाल भन्ने सत्तापक्षका माननीय हुनुहुन्छ। उहाँले भन्नुभयो– हिजो एमालेको नेतृत्वको सरकार हुँदा केपी शर्मा ओलीज्यूले पशुपतिनाथको गजुरमा जलहरी लगाउने नाममा सुन लगाउने भनेर पित्तल लगाउने काम भएको छ भनेर गम्भीर आरोप लगाउनुभएको छ। सत्तापक्षले कुनै आधार विना, प्रमाण विना आरोप लगाउने कुरा स्वीकार्य हुँदैन।”
उनले यसमा सरकारले छानबिन गर्नुपर्ने बताए। “पशुपतिनाथको जलहरीमा लगाएको कुरा सुन हो कि पित्तल हो भनेर सरकारले सदनमा जानकारी दिनुपर्छ,” एमालेका प्रमुख सचेतक गिरीले भने, “सरकारले यो विषयमा जवाफ देओस्, जवाफ नआएसम्म यो सदन एक इन्च पनि अगाडि बढ्न सक्ने अवस्था छैन।”
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले जेठ १० गतेको बैठकमा यस विषयमा प्रश्न गरेका थिए। “गएको तीन वर्ष सरकारमा जाँदा सात खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए?” सांसद दाहालले भनेका थिए, “यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरीदमा भएको दुई अर्बको भ्रष्टाचार। त्यति मात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौं यस्ता काण्ड छन्।”
उनको यही भनाइलाई लिएर एमालेका सांसदले विरोध गरेका हुन्। उनीहरू यसबारे छानबिनको माग गरेका छन्। एमाले सांसद आसनमा बस्न समेत मानेनन्।
त्यसपछि सभामुख घिमिरेले एमाले संसदीय उपनेता सुवास नेम्वाङलाई बोल्न दिएका थिए। नेम्वाङले पनि ‘जलहरीमा सुन हो कि पित्तल’ भनेर टुङ्गो लगाउनुपर्ने बताए। “सत्तापक्षका तर्फबाट जिम्मेवार सांसदले जुन कुरा राख्नुभयो, त्यो कुनै आधार छैन। गैरजिम्मेवार छ,” नेम्वाङले भने, “यति गम्भीर आरोप मेरो पक्षमाथि, मेरो पार्टीमाथि, प्रतिपक्षको नेतामाथि लगाइएको छ। यो आरोप टाउकोमा बोकेर हामी कसरी प्रक्रियामा भाग लिन सक्छौं!”
उनले यस विषयबारे टुङ्गो लगाउनुपर्नेमा जोड दिए। “यसलाई राफसाफ नगरी हुँदैन, हामी चाहन्छौं दूधको दूध, पानीको पानी होस्। सुनको जलहरी होइन भने प्रमाणित गरियोस्, कारबाही गरियोस्,” नेम्वाङले भने, “यो कुरालाई टुङ्गोमा नपुर्याई हामी उठ्यौं भने हामीमाथि गम्भीर आरोप लाग्छ। त्यसैले यसलाई टुङ्गोमा पुर्यायौं।”
एमाले सांसदले नाराबाजी जारी राखेपछि सभामुख घिमिरेले २० मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगन गरेका छन्।
यो विषय दुई वर्षअघि पनि उठेको थियो। पशुपतिनाथको मन्दिरमा जलहरी लगाइएको थियो। जहलरीमा सुनको मात्रा कम भएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न गरेको थियो।