भलिबल च्यालेन्ज कपमा नेपालको विजयी शुरूआत

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले विजयी शुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा सोमबार अपराह्न भएको खेलमा नेपालले किर्गीस्तानलाई ३-० को सोझो सेटले पराजित गरेको हो। नेपालले पहिलो सेट २५-११ ले जितेको थियो।
दोस्रो सेटमा किर्गीस्तानले प्रतिस्पर्धा गरेको थियो। तैपनि नेपालले २५-१९ ले पराजित गर्यो।
तेस्रो सेटमा नेपाली भलिबल टोलीले झन् राम्रो प्रदर्शन गर्यो। नेपालले किर्गीस्तानलाई २५-११ ले पराजित गरेको छ। यो जितसँगै नेपालले तीन अङ्क बटुलेको छ।
सोमबार बिहान भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सेटले पराजित गरेको थियो। उज्वेकिस्तानले पहिलो सेट २७-२५, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो।
प्रतियोगितामा नेपाल सहित, भारत, बाङ्लादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गीस्तान, उज्वेकिस्तान र काजखस्तानको सहभागिता छ। नेपालको रहेको समूह ‘ए’ मा भारत, बाङ्लादेश र किर्गीस्तान छन् भने समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजखस्तान र उज्वेकिस्तान छन्।
आजदेखि शुरू भएको प्रतियोगिता जेठ १४ गतेसम्म चल्नेछ।