रोमाञ्चक बन्दै आईपीएल, कसको सम्भावना कति?
![रोमाञ्चक बन्दै आईपीएल, कसको सम्भावना कति?](https://www.himalkhabar.com/uploads/posts/800X600/ipl_main_1684295307.jpg)
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणका खेल अन्तिमतिर पुग्दा प्लेअफको प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ।
लखनउमा गएराति भएको खेलमा पाँच रन जोड्न सकेको भए मुम्बई इन्डियन्स आईपीएलको प्लेअफमा पुग्ने थियो। तर, अन्तिम ओभरमा ११ रन आवश्यक परेको मुम्बईले पाँच रन मात्रै बनायो। जबकि, मुम्बईको हातमा पाँच विकेट बाँकी थिए।
घरेलु मैदानमा लखनउ सुपर जेन्ट्सका मोहसिन खानले पहिलो बल डट राखे। दोस्रो र तेस्रो बलमा एक-एक रन मात्रै दिए। चौथो बल फेरि डट राखे भने पाँचौं बलमा पनि एक रन मात्रै दिए।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/ipl/ipl%20table.JPG)
छैटौं बलमा टिम डेभिडले दुई रन लिए पनि मुम्बईलाई जितका लागि पाँच रन कम भयो। यसअघि २०० भन्दा बढी रन पनि चेस गरिसकेको मुम्बईले गएराति भने १७८ रन पनि बनाउन नसक्दा प्लेअफमा पुग्न अर्को खेल जित्नुपर्ने भएको छ।
यो रोमाञ्चक जितसँगै लखनउले भने प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ। अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको लखनउको १५ अङ्क छ।
आईपीएलका १० टोलीमध्ये पञ्जाब किंग्स, सनराइज हैदराबाद र दिल्ली क्यापिटल्सका दुई-दुई र अन्य सात टोलीको एक-एक खेल मात्रै बाँकी छन्। प्रतियोगिताको लिग चरणमा सबै टोलीले १४-१४ खेलमा प्रतिस्पर्धा गर्छन् भने अङ्कतालिकाको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/ipl/ipl_2.jpg)
आईपीएलका ६३ खेल सकिंदा एक टोली मात्रै प्लेअफमा पुगेको छ। अङ्कतालिकाको शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले १८ अङ्क सहित प्लेअफको स्थान सुरक्षित बनाएको हो।
त्यस्तै, दुई टोली भने दुई खेल बाँकी छँदै बाहिरिएका छन्। पुछारमा रहेका हैदराबाद र दिल्लीको प्लेअफमा पुग्ने सम्भावना सकिएको छ। दुवै टोलीको आठ-आठ अङ्क मात्रै छ। अबका दुवै खेल जिते पनि १२ अङ्क मात्रै हुनेछ।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/ipl/ipl_4.jpg)
अन्य सात टोलीबीच प्लेअफका लागि प्रतिस्पर्धा छ। आठौं नम्बरमा रहेको पञ्जाबको १२ अङ्क छ। अबका दुई खेल जितेमा १६ अङ्क सहित प्लेअफमा पुग्ने सम्भावना जीवितै छ।
त्यस्तै, छैटौं र सातौं नम्बरमा रहेका राजस्थान रोयल्स र कोलकोत्ता नाइट राइडर्सको समान १२ अङ्क छ। दुवै टोलीले अन्तिम खेल जितेमा प्लेअफमा पुग्ने सम्भावना रहनेछ।
१२ अङ्क सहित पाँचौं नम्बरमा रहेको रोयल च्यालेन्जर्स ब्याङ्लोरका भने दुई खेल बाँकी छन्। दुवै खेल जितेमा १६ अङ्क सहित प्लेअफमा पुग्नेछ।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/ipl/birat.jpg)
चौथो नम्बरमा रहेको मुम्बईको १४ अङ्क छ। मुम्बईले प्लेअफमा पुग्न अन्तिम खेल जित्नै पर्नेछ।
अहिले दोस्रो र तेस्रो स्थानमा रहेका चेन्नेई सुपर किंग्स र लखनउ पनि ढुक्क छैनन्। दुवै टोलीको समान १५ अङ्क छ भने एक खेल बाँकी छ। दुवै टोलीलाई अन्तिम खेल जित्नुपर्नेे दबाब छ।
अब सात खेल बाँकी छन् भने सात वटै टोली प्लेअफका लागि जितको प्रतीक्षामा छन्। लिग चरणका बाँकी खेलमा पञ्जाब र दिल्ली, हैदराबाद र ब्याङ्लोर, पञ्जाब र राजस्थान, दिल्ली र चेन्नेई, कोलकाता र लखनउ, मुम्बई र हैदराबाद तथा अन्तिम खेलमा ब्याङ्लोर र गुजरातले प्रतिस्पर्धा गर्नेछन्।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/ipl/ipl_3.jpg)