विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
![विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/ktm_police_1683876969.jpg)
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीको लागि सिंगापुर पठाउने भन्दै ठगी गरेको आरोपमा २० वर्षीय सृजन निरौलालाई पक्राउ गरिएको हो। उनले १२ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले सिंगापुर पठाइदिने प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ९५ लाख रुपैयाँ लिएको पाइएको छ।
त्यस्तै, वैदेशिक रोजगार तथा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ४६ वर्षीय अन्जन सिग्देल र ३८ वर्षीय होमबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सिग्देललााई जडिबुटी नरेफाँटबाट र तामाङलाई बसुन्धाराबाट पक्राउ गरिएको हो। सिग्देलले माल्दिभ्स र तामाङले दुबई पठाउने भन्दै ठगी गरेको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
तीनै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।