सेती प्रादेशिक अस्पतालमा राम्रो सेवा नहुँदा निजीमा जानुपर्ने बिरामीको बाध्यता

सुदूरपश्चिम प्रदेशकै ठूलो अस्पताल सेती प्रादेशिक अस्पतालमा राम्रो सेवा नहुँदा बिरामीहरू महँगो शुल्कमा निजी अस्पतालमा उपचार गर्न बाध्य छन्।
धनगढी उपमहानगरपालिका-८ की गीता चौधरी स्वास्थ्य परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा चिकित्सकले मिर्गौलामा पत्थरी भएको बताए। जसको उपचारका लागि शल्यक्रिया गर्नुपर्ने सुझाव दिए। तर‚ पालो एक महीनापछि मात्र आउने भएकाले उनी निजी अस्पताल पुगिन्।
“एक महीनापछि मात्रै पालो आउँछ भनेपछि निजी अस्पतालमा गएर अपरेशन गर्यौं‚” गीताले भनिन्‚ “सरकारी अस्पतालमा भए १०-१२ हजार रुपैयाँ मात्रै खर्च हुन्थ्यो‚ निजीमा करीब एक लाख रुपैयाँ भयो।” गीताले स्वास्थ्य बीमा पनि गरेकी छन्। तर‚ उक्त कार्यक्रम लागू भएको निजी अस्पतालमा बीमा सेवा नपाएको उनको गुनासो छ।
कैलालीस्थित कैलारी गाउँपालिका-७ का ४५ वर्षीय विसराम चौधरीको दुवै मिर्गौलामा पत्थरी छ। विसराम दुई वर्षअघि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। “त्यो वेला दुवै मिर्गौलामा पत्थरी भएकाले यहाँ (सेती प्रदेशिक अस्पताल) उपचार हुँदैन, अन्तै जानू भनेर डिस्चार्ज नै गरिदिए‚” विसरामका आफन्त वसन्ती चौधरी भन्छिन्‚ “बिरामीको अवस्था डिस्चार्ज गर्नलायक थिएन। अस्पतालले कुनै राम्रो ठाउँमा रेफर गर्नुपर्थ्यो।”
अस्पतालले डिस्चार्ज गरेपछि विसरामलाई भारतको सितारगञ्जमा लगेर पत्थरीको शल्यक्रिया गरिएको थियो। ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका विसरामलाई त्यसयता पनि सञ्चो भएको छैन। उनलाई चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। “चिकित्सकले दुवै मिर्गौलाले काम गर्न छोडेको‚ मिर्गौलामा पिप र पानी जमेकाले त्यो निकालेपछि मात्र थप उपचार हुने बताएका थिए‚” वसन्तीले भनिन्‚ “तर‚ अस्पतालमा मिर्गौलाबाट पानी र पिप निकाल्ने मशिन नभएको भन्दै डिस्चार्ज दियो।”
बिरामीको अवस्था चिन्ताजनक हुँदाहुँदै अस्पतालले डिस्चार्ज दिएको उनको भनाइ छ। सेती प्रादेशिक अस्पतालका प्रायः चिकित्सकको क्लिनिक र निजी अस्पताल रहेकाले बिरामीलाई त्यतैतिर रेफर गर्ने वसन्तीको आरोप छ। “यहाँ कार्यरत अधिकांश विशेषज्ञ डाक्टरहरूको आफ्नै निजी अस्पताल वा क्लिनिक छ‚” उनी भन्छिन्‚ “हाम्रो बिरामीको उपचार कहाँ हुन सक्छ भनी सोधीखोजी गर्दा डाक्टरले नजानिंदो तरीकाले आफ्नो निजी अस्पतालमा सिफारिश गर्छन्।”
प्रादेशिक अस्पतालमा उपचार हुन सक्दैन भनी डिस्चार्ज दिइएका विसरामको अहिले एक निजी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्यमा सुधार भइरहेको वसन्तीले बताइन्।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डे अस्पतालको सेवा राम्रो रहेको दाबी गर्छन्। “पछिल्लो अवस्थामा डायलायसिस गर्ने बिरामीको संख्या बढेको छ‚” उनी भन्छन्‚ “अस्पतालले १४ बेड डायलायसिस सेवा दिइरहेको छ। तर, बिरामी १७२ जना छन्। जुन कारण पालो कुर्नुपर्ने हुन्छ।” अस्पतालमा मशिन नभएकाले पत्थरीका बिरामीलाई लेजर प्रविधिबाट शल्यक्रिया गर्ने सेवा दिन नसकिएको मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले बताए।
१२५ शय्याको स्वीकृति पाएको अस्पतालले ३५० शय्याको सेवा दिइरहेको पाण्डे बताउँछन्। अस्पतालमा कम जनशक्ति र भौतिक संरचना पनि पर्याप्त नभएको उनको भनाइ छ। अपरेशन थिएटर एउटा मात्र भएकाले पनि बिरामीहरूले पालो कुर्नुपर्ने अवस्था रहेको छ।
अस्पतालमा १०६ जनाको दरबन्दी रहे पनि ७७ जना मात्रै कर्मचारी छन्। विशेषज्ञ डाक्टर १६ जना मात्रै छन्। एउटै डाक्टरले धेरै बिरामी हेर्नुपर्ने भएकाले बिरामीका आफन्तले गुनासो गरिरहेको पाण्डे बताउँछन्।
पाँच वर्षमा पनि बनेन भवन
अस्पतालमा प्रसूति‚ नवजात शिशु‚ मातृशिशु, प्रसूति तथा स्त्री रोगको उपचार एकीकृत रूपमा गर्न भनी २०७४ कात्तिक २७ गते भवन शिलान्यास गरिएको थियो। २१ करोड लागतमा बन्ने दुईतले भवन ३० महीनामा निर्माण सक्ने गरी काठमाडौंको रवीना थेगिम जेभीले ठेक्का लिएको थियो।
नयाँ भवन तोकिएको समयमा निर्माण नहुँदा अस्पतालको सेवा विस्तारमा समस्या भएको पाण्डेको भनाइ छ। उनी भन्छन्‚ “निर्माणाधीन भवनमा आठ ब्लक छन्। यो भवन सम्पन्न भएपछि सेवा दिन धेरै सजिलो हुन्छ।”
अस्पतालमा इमर्जेन्सी भवन निर्माण गर्न संघीय सरकारबाट १६ करोड रुपैयाँ विनियोजन भएको छ। प्रदेश सरकारले पनि नयाँ भवनका लागि प्रक्रिया थालेको छ। दुई अर्बको लगानीमा नयाँ भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।