मन्त्री टुङ्गो लगाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सरकारमा सहभागी हुने बाँकी मन्त्रीको टुङ्गो लगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी चैत २९ गते बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १७ मा मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसबाट चार जना मन्त्री बनेका छन्। सत्तारूढ गठबन्धनमा भागबन्डा हुँदा कांग्रेसको भागमा आठ मन्त्रालय परेका थिए। अब चार मन्त्री पठाउन बाँकी छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थप मन्त्रीका विषयमा छलफल हुने जनाइएको छ।
त्यस्तै, कांग्रेसले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ र चितवनमा उम्मेदवार टुङ्गो लगाएको छ। तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्।
बारा-२ मा उम्मेदवार टुङ्गो लगाउन बाँकी छ। त्यस विषयमा पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने जनाइएको छ।
यससँगै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने कांग्रेसका मुख्यसचिव पौडेलले जनाएका छन्।