राष्ट्रिय स्वतन्त्र पार्टी किन गएन सरकारमा?
प्रधानमन्त्री पुष्पकमल दाहालले सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारमा सहभागी भएको छैन।
गत पुस १० मा प्रधानमन्त्री भएका दाहालले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत दललाई समेटेर चैत १७ मा मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको रास्वपा भने सरकारमा सहभागी भएन।
रास्वपाका माग पूरा गर्न गठबन्धनले अस्वीकार गरेपछि सरकारमा सहभागी नभएको महामन्त्री डा. मुकुल ढकालले बताए। सरकारमा गएपछि आफूले पाएको मन्त्रालयमा आफ्नो पार्टीको नीति तथा कार्यक्रम लागू गरेर काम गर्न पाउनुपर्ने माग राखेको डा. ढकालले बताए।
“स्वतन्त्रतापूर्वक काम गर्न नपाउने भएपछि हामीले सरकारमा नजाने निर्णय गरेका हौं,” महामन्त्री ढकालले भने, “सरकारमा सहभागी नभए पनि हाम्रो समर्थन छ।”
त्यस्तै, सरकारमा नजानुको दोस्रो कारणमा उपनिर्वाचन पनि रहेको उनले बताए। गठबन्धनमा रहेका दलहरूले उपनिर्वाचन लड्न नपाउने शर्त राखेको ढकालले बताए।
आगामी वैशाख १० मा तनहुँ-१, बारा-२ र चितवन-२ मा उपचुनाव हुँदै छ। रास्वपाले तीनै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।
यससँगै तेस्रो कारण सरकारमा सहभागी हुन गठबन्धनमा सामेल हुनुपर्ने शर्त राखिएकाले पनि बाहिरै बसेको उनले बताए। “सरकारमा सहभागी हुन मात्र हामीले सरकारलाई समर्थन गरेका हैनौं, सरकारमा गएर स्वतन्त्रतापूर्वक काम गर्न नपाउने भएपछि नजाने निर्णय गरेका हौं,” ढकालले भने।
चैत १७ मा कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीबाट मन्त्री थपिएका छन्। एक राज्यमन्त्री सहित १७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। अझै पनि ६ वटा मन्त्रालय प्रधानमन्त्री दाहालसँगै छन्।