मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?
![मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?](https://www.himalkhabar.com/uploads/posts/800X600/Minister1_1680257570.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्तसँगै मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। नवनियुक्त मन्त्रीसँगै १७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
प्रधानमन्त्री दाहालसँगै १६ मन्त्री र एक राज्यमन्त्री भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीका रूपमा यसअघि नै सुशिला सिर्पाली ठकुरी नियुक्त भएकी थिइन्।
आज नेपाली कांग्रेसबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र शहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट मन्त्रीमा शक्ति बस्नेत थपिएका छन्। यसअघि नियुक्त मन्त्रीको मन्त्रालय हेरफेर गरिएको छ।
नारायणकाजी श्रेष्ठलाई उप्रधानमन्त्रीसँगै गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्ति बस्नेत, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी नियुक्त भएका छन्।
नेकपा (एकीकृत समाजवादी)बाट बेदुराम भुसालले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसैगरी, जनता समाजवादी पार्टीका अशोक राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, लोकतान्त्रिक समाजवादी पार्टीका शरदसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।
उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टीबाट खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।
प्रधानमन्त्री दाहालले ६ वटा मन्त्रालय आफूसँगै राखेका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालय प्रधानमन्त्री दाहालसँगै रहेका छन्।
कांग्रेसले आठ वटा मन्त्रालय पाए पनि चार जनाको मात्रै नाम पठाएको छ। जसपाले दुई वटा मन्त्रालय पाए पनि एक जना मात्रै पठाएको छ। त्यस्तै जनमत पार्टीबाट सरकारमा सहभागी खानले राजीनामा दिएका छन्। जसले गर्दा ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै रहेका हुन्।