नागढुंगा सुरुङमार्ग: अवधि पूरै सकियो, आधा काम सकिएन
![नागढुंगा सुरुङमार्ग: अवधि पूरै सकियो, आधा काम सकिएन](https://www.himalkhabar.com/uploads/posts/800X600/nagdhunga-surungmarga_1650029677.jpg)
काठमाडौं प्रवेश गर्ने मुख्य प्रवेशद्वार नागढुंगामा निर्माणाधीन सुरुङमार्गको काम आधा सकिएको छ। सुरुङमार्ग परियोजनाका अनुसार, आयोजनाको समग्र भौतिक प्रगति ५०.१५ प्रतिशत भएको छ।
४२ महीनाको निर्माण अवधि तोकेर २०७६ असोजमा यसको निर्माण शुरू गरिएको थियो। तर, शुरूको अनुमानित निर्माण अवधि सकिंदा आयोजनाको काम आधा सकिएको हो। आयोजनाको निर्माण पूर्वको तयारीमा समय लागेको तथा कोभिड-१९ महामारीका कारण लक्ष्य अनुसार काम हुन नसकेको बताउँदै आएको छ।
करीब रु.२२ अर्ब लागत अनुमान रहेको आयोजनाको अहिलेसम्म ५४.४ प्रतिशत खर्च भइसकेको छ। सुरुङमार्गको निर्माण जापानी कम्पनी हाजमाले गरिरहेको छ। आयोजनाको निर्माण सुस्त भएपछि सरकारले आयोजनाको अवधि एक वर्ष थपिसकेको छ।
आयोजनाका अनुसार, मुख्य सुरुङमार्गको दुई हजार ६८८ मिटर खन्नुपर्नेमा एक हजार ८६९ मिटर खनिएको छ। सुरुङ खन्न जाने बाटो (अडिट) दुई हजार ५५७ मिटरमध्ये दुई हजार १२७ मिटर खनिएको छ। आयोजना अन्तर्गत तीन पुल, एक ओभरपास, कल्भर्ट, अन्डरपास लगायत निर्माण सकिएको छ। २.६८ किलोमिटर लामो सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुई लेन हुनेछन्।
नागढुंगाको यातायात सहज बनाउन सन् २०१३ देखि २०१५ सम्ममा गरिएका सर्वेक्षणपश्चात् यो सुरुङमार्ग निर्माणको योजना अघि बढेको थियो। यो आयोजना निर्माणका लागि नेपाल र जापान सरकारबीच सन् २०१६ मा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।
जापान सरकारले यो आयोजनाका लागि १६ अर्ब ६३ करोड जापानी येन ४० वर्षका लागि वार्षिक ०.०१ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा ऋण दिएको छ। आयोजनामा जग्गा खरीद लगायत कामका लागि नेपाल सरकारको खर्च हुनेछ।