मन्त्री छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसले मन्त्रीहरूको टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने खाका पेश गरेका थिए। त्यसमा तीनै नेताबीच मोटामोटी सहमति जुटेपछि निर्णय गर्न गठबन्धनको बैठक बोलाइएको छ।
बालुवाटारमा भएको छलफलपछि कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। चैत १४ गते बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। बैठकमा कांग्रेसको भागमा परेका मन्त्रालयका विषयमा छलफल हुने जनाइएको छ।