कस्तो छ आगामी तीन दिनको मौसम?
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आगामी तीन दिन पहाडी भूभागमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
चैत १२ गते दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने भएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा हुने विभागको आकलन छ।
चैत १३ गते दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा हुनेछ।
राति पनि पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।