मधेश सबैभन्दा कम र बागमतीमा सबैभन्दा बढी साक्षर प्रदेश
![मधेश सबैभन्दा कम र बागमतीमा सबैभन्दा बढी साक्षर प्रदेश](https://www.himalkhabar.com/uploads/posts/1594784197student_tfn.jpg)
राष्ट्रिय जनगणना २०७८ का अनुसार, नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ।
देशभर पाँच वर्ष वा सोभन्दा माथिल्लो उमेरका कुल दुई करोड ६६ लाख ७५ हजार ९७५ जनसंख्यामध्ये दुई करोड तीन लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न जान्ने रहेका छन्। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ।
२०६८ सालको जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत मात्र थियो। अर्थात् १० वर्षमा नेपालमा १०.३ प्रतिशत साक्षरता दर बढेको छ।
यता प्रदेशगत अनुसार भने बागमती प्रदेशमा सबैभन्दा धेरै साक्षरता दर छ। बागमती प्रदेशमा पाँच वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्याको ८२.१ प्रतिशत साक्षर छन्।
त्यस्तै, मधेश प्रदेशमा सबैभन्दा कम साक्षरता दर ६३.५५ प्रतिशत छ। काठमाडौंमा सबैभन्दा बढी ८९.२३ प्रतिशत र रौतहटमा सबैभन्दा कम ५७.७५ प्रतिशत साक्षर छन्।
पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौंमा क्रमशः ९४.१९ प्रतिशत र ८४.१६ प्रतिशत छ। रौतहट जिल्लामा भने महिला र पुरुष दुवैको साक्षरता दर अन्य सबै जिल्लाको तुलनामा कम छ।