कुन जिल्लामा कति जनसंख्या?
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको नतीजा अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार, देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा २० लाख ४१ हजार ५८७ जना बसाेबास गर्छन्। त्यस्तै, सबैभन्दा कम जनसंख्या रहेको मनाङमा पाँच हजार ६५८ जनाको बसोबास छ।
सबैभन्दा बढी जनसंख्या भएका जिल्लामा काठमाडौंपछि मोरङ, रुपन्देही, झापा र सुनसरी छन्। कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ।