शिक्षक सेवा आयोगका परीक्षा अन्योलमा
![शिक्षक सेवा आयोगका परीक्षा अन्योलमा](https://www.himalkhabar.com/uploads/posts/800X600/teacher_1679488484.jpg)
देशभरका विद्यालयमा शिक्षकको पदपूर्ति गर्न शिक्षा सेवा आयोगले लिने परीक्षा अन्योलमा परेका छन्।
आयोगले सञ्चालन गर्ने शिक्षकका सबै परीक्षा हुने/नहुने टुङ्गो लाग्न सकेको छैन। बजेट अभावले परीक्षा अन्योलमा परेको आयोगले जनाएको छ।
फागुनमा खुलाउनुपर्ने प्राथमिक तहको विज्ञापन अझै खुलाउन सकेको छैन। खुलाएको विज्ञापनको पनि बजेट अभावले समयमा परीक्षा सञ्चालन हुने/नहुने अन्योल छ। यही चैत १८ बाट शुरू हुने भनिएको माध्यमिक तहको पहिलो चरणको परीक्षा बजेट अभावकै कारण अन्योलमा परेको हो।
यसले गर्दा तयारी गरिरहेका परीक्षार्थी अन्योलमा छन्। आयोगको माध्यमिक तहको परीक्षा तयारी गरिरहेकी अप्सरा लम्साल लामो समयदेखि तयारी गरिरहेको परीक्षा मुखैमा आएर हुने/नहुने अन्योल हुँदा समस्या भएको बताउँछिन्।
त्यस्तै, कतिपयलाई समयमा परीक्षा नहुँदा उमेर हद नाघ्ने भएकाले तयारी गरेको समय खेर जाने चिन्ता छ। “समयमै परीक्षा नहुँदा तयारी गर्नेलाई त असर पर्छ नै, विद्यालयमा पनि शिक्षकको पदपूर्ति रोकिएर पठनपाठनमा पनि प्रभाव पर्छ,” लम्साल भन्छिन्।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी आयोगका तर्फबाट परीक्षाको तयारी पूरा भए पनि बजेट अभावले अन्योल थपेको बताउँछन्। उनका अनुसार, आयोगले अघिल्लो वर्ष प्राप्त गरेको १४ करोड बजेट खर्च भइसकेको छ। यो वर्ष देशमा आर्थिक सङ्कट भएको भन्दै अर्थ मन्त्रालयले बजेट रोकेको रेग्मीको भनाइ छ।
आयोगले तयारी गरेको परीक्षा गर्नलाई चार करोड बजेट चाहिने जनाएको छ। परीक्षा आउन दुई साता बाँकी हुँदा समेत अर्थ मन्त्रालयले बजेट पठाएको छैन। “अब केही दिनमा बजेट आएन भने परीक्षा रोकिने अवस्था आउँछ,” अध्यक्ष रेग्मीले भने।
आयोगका अनुसार, अघिल्लो वर्षकै ३७० जनाको पदपूर्ति गर्न बाँकी छ। त्यसमध्ये सबैभन्दा बढी गणितको १५१ कोटा खाली छ। विज्ञानमा १०७ कोटा खाली रहेको आयोगले जनाएको छ।