प्रधानमन्त्रीले राजनीतिक सौदाबाजी गरेर रवि लामिछानेलाई सफाइ दिन लगाए: जनमोर्चा
सत्तारूढ गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा उन्मुक्ति दिएको निष्कर्ष निकालेको छ।
“रवि लामिछानेलाई सफाइ दिनुको पछाडि कुनै कानूनी आधारमा नभएर राजनीतिक सौदाबाजीका आधारमा नै गरिएको हो,” सत्तारूढ गठबन्धनको एक घटक जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेका छन्, “रवि लामिछानेको पार्टीबाट विश्वासको मत प्राप्त गर्न नै प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई दबाब दिएर उनलाई सफाइ दिने निर्णय गरेका हुन्, जुन सरासर गलत छ।”
महान्यायाधिवक्ताको कार्यालयले राहदानी प्रकरणमा लामिछानेलाई प्रधानमन्त्रीको दबाबमा मुद्दा नचलाउने निर्णय गरेको जनमोर्चाको ठहर छ। अध्यक्ष केसीले भनेका छन्, “रवि लामिछानेले अमेरिकाको नागरिक हुँदाहुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन। लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएका थिए। उनीमाथि कानूनत: मुद्दा चल्नुपर्थ्यो।”
राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधिले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने जनमोर्चाको दाबी छ। “रवि लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको हो,” केसीले बुधबार जारी विज्ञप्तिमा भनेका छन्, “त्यसकारण त्यो संगठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा थाहा हुँदाहुँदै पनि सरकारले विश्वासको मत लिनका लागि उनीप्रति अपनाएको नीति भर्त्सनायोग्य छ।”