मन मिल्ने कम्युनिस्टहरू एक हुनुपर्छ: माधव नेपाल
![मन मिल्ने कम्युनिस्टहरू एक हुनुपर्छ: माधव नेपाल](https://www.himalkhabar.com/uploads/posts/800X600/madhav_nepal_2_1636794994.jpg)
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने बताएका छन्।
शनिबार मेलम्चीमा आयोजित एकीकृत समाजवादीको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरूको एकतामा जोड दिएका हुन्। उनले भने, “अझै पनि नेपालमा कम्युनिस्ट लोकप्रिय छन्। त्यसैले विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्छ।”
त्यस्तै, अध्यक्ष नेपालले मन र विचार मिल्ने अन्य पार्टीहरूसँग गठबन्धन हुन सक्ने पनि बताए। “मन र विचार मिल्ने पार्टीहरूसँग गठबन्धन हुन सक्छ,” नेपालले भने।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै गल्ती महसूस नगर्नेहरूसँग भने गठबन्धन नहुने बताए। “आफ्नो गल्ती महसूस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन,” नेपालले भने।
गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न अहिलेको गठबन्धन बनेको उनको भनाइ थियो। नेपालले भने, “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो। संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा अजेन्डा हो।”