उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपाले भोट नहाल्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपतिको निर्वाचनमा पनि भोट नहाल्ने भएको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। “आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले मत नदिने, तटस्थ बस्ने निर्णय गरेको छ,” श्रेष्ठले भने। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।
यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचित भएका थिए। राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ अर्का उम्मेदवार थिए।
यससँगै राप्रपाले मलको मूल्य बढाउने सरकारी निर्णयको विरोध गरेको छ। राप्रपाको निर्णयमा भनिएको छ, “किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित छ।”
राप्रपाले किसानलाई सर्वसुलभ रूपमा मल उपलब्ध गराउन माग गरेको छ।