उपराष्ट्रपतिमा रामसहाय यादवलाई मत दिने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिमा यादवलाई मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।
बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता महतले भने, “गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने र संघीय संसद् तथा प्रदेश सभाका सदस्यलाई उहाँलाई मतदान गर्न निर्देशन गर्ने निर्णय भएको छ।”
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाट यादवसँगै प्रमिला कुमारी उम्मेदवार छन्। त्यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका छन्।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ। यससँगै कांग्रेस बैठकले वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको तयारीका लागि मातहतका सबै निकायलाई निर्देशन दिने निर्णय पनि गरेको प्रवक्ता महतले बताए।