राष्ट्रपतिको कार्यकाल सकियो, घरको मर्मत सकिएन
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिएको छ। राष्ट्रपति भण्डारीको घरको मर्मतसम्भार नसकिएपछि छोरीको घरमा सर्ने भएकी छन्।
बूढानीलकण्ठस्थित राष्ट्रपति भण्डारीको घरको पूर्ण रूपमा मर्मत भइनसकेकाले शीतल निवासबाट निजी निवासमा जाने योजना पर सरेको जनाइएको छ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आजै (फागुन २९) पद तथा गोपनीयताको शपथ लिंदै छन्। नयाँ राष्ट्रपतिले शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाइ गरिनेछ।
घर मर्मतको काम सक्न अझै महीना लाग्ने भएकाले तत्काल सर्ने कार्यक्रम नभएको राष्ट्रपति भण्डारीका भाइ डेकेन्द्र पाण्डेले बताए। मंसीर पहिलो सातादेखि नै मर्मतको काम शुरू गरिए पनि काम गर्नेहरू केही समय बाहिर गएकाले समय लागेको पाण्डेको भनाइ छ। “सामान सार्ने काम भइसकेको छ, उहाँ (राष्ट्रपति भण्डारी)ले आज नै शीतल निवास छोड्नुहुन्छ,” पाण्डेले भने।
मर्मतसम्भार भइरहेको राष्ट्रपति विद्यादेवी भण्डारीको घर।
बुढानीलकण्ठ नगरपालिका–२ मा राष्ट्रपति भण्डारीले घर निर्माण गरेकी थिइन्। नयाँ घरमा सर्ने तयारी गरेका वेला २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको थियो।
मर्मतसम्भार गरेर नयाँ घर नसर्दै उनी राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारी शीतल निवास सरेकी थिइन्। जसले गर्दा नयाँ घरमा बस्ने मौका नजुरेको पाण्डेले बताए।
आफ्नै घरमा सर्ने योजना स्थगित भएसँगै राष्ट्रपति भण्डारी जेठी छोरी उषाकिरण भण्डारीको बालुवाटारस्थित घरमा बस्ने योजना बनेको पाण्डेले बताए। भाडामा बस्नुभन्दा छोरीकहाँ बस्न राष्ट्रपति भण्डारीले सहज मानेको उनले बताए।