नवनिर्वाचित राष्ट्रपति पौडेलको आज शपथ
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
शीतल निवासमा सोमबार दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार र नेम्बाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।
पौडेल कांग्रेस सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीका साझा उम्मेदवार थिए। नेम्बाङलाई भने एमालेको मात्र साथ थियो।
२०६२/६३ सालको जनआन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणाली शुरू भएको हो। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संवैधानिक व्यवस्था छ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ।