विदेशी मुद्राको सञ्चितिमा लगातार सुधार
आयात खुम्चिएर रेमिटेन्स आप्रवाह बढेपछि मुलुकको विदेशी मुद्राको सञ्चिति सुविधाजनक स्थितिमा पुगेको छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार, माघ महीनामा विदेशी मुद्राको सञ्चिति १० अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ। यो गत असारमा नौ अर्ब ५४ करोड डलर थियो।
गत वर्ष विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा क्षयीकरण भएपछि मुलुक श्रीलंकको बाटोमा पुगेको भनी सार्वजनिक चिन्ता प्रकट भएको थियो। उच्च आयातका कारण विदेशी मुद्रा अधिक बाहिरिएपछि सरकार र केन्द्रीय ब्यांकले आयात नियन्त्रणका लागि विभिन्न उपाय अघि सारेका थिए। गत वर्षको वैशाखमा विदेशी मुद्राको सञ्चिति सर्वाधिक थोरै नौ अर्ब २७ करोड अमेरिकी डलरमा खस्किएको थियो। यो रकमले ६ महीना १८ दिनको मात्र आयात धान्ने क्षमता राख्थ्यो।
गत भदौ महीनापछि भने विदेशी मुद्राको सञ्चितिमा लगातार सुधार आइरहेको छ। भदौमा नौ अर्ब ३४ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा गत पुससम्म आइपुग्दा १० अर्ब ३० करोड अमेरिकी डलर कायम भएको थियो। माघमा यो रकम थप २० करोड डलरले थपिएको छ। यसले विदेशी मुद्राको सञ्चिति कोभिड-१९ कालपूर्वकै अवस्थामा पुगेको देखाउँछ।
केन्द्रीय ब्यांकका अनुसार, अहिलेको विदेशी मुद्राको सञ्चितिले नौ महीना १२ दिनको वस्तु र सेवा आयात थेग्न सक्छ। सामान्यतयः सात महीनाको वस्तु र सेवाको आयात थेग्ने विदेशी मुद्रा नभए चिन्ता गर्न थाल्नुपर्ने सरकारी अधिकारीहरूले बताउने गरेका छन्।
खासगरी, आयात खुम्चिएर विदेशिने रकम कटौती भएका कारण यस्तो सञ्चिति बढेको हो। राष्ट्र ब्यांकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, चालु आर्थिक वर्षको सात महीना (माघसम्म)मा नेपालको आयात गत वर्षभन्दा १९ दशमलव ९ प्रतिशतले घटेर रु.नौ खर्ब १९ अर्ब १७ करोडमा सीमित भएको छ। यो गत वर्षको यही अवधिमा ४२.८ प्रतिशतले घटेको थियो। खासगरी सवारी साधन, औषधि, एमएस बिलेट (फलाम), दूरसञ्चारका उपकरण, चाँदी आदि वस्तुको आयात घटेको छ। देशभित्र वस्तु र सेवाको माग खस्किएका कारण आयात घटेको हो।
राष्ट्र ब्यांकका अनुसार, यो अवधिमा निर्यात पनि घटेको छ। माघसम्म निर्यात २९ प्रतिशतले घटेर रु.९३ अर्ब ४३ करोडमा सीमित भएको छ। खासगरी, सोयाबिन र पाम तेलको निर्यात घट्दा समग्र निर्यात घटेको हो। विदेशबाट मगाएर सामान्य प्रशोधनपछि निर्यात गरिने यी वस्तुको निर्यात घट्दा सीमित व्यवसायीलाई असर पर्छ।
बितेका वर्षहरूमा जस्तै नेपाली अर्थतन्त्रलाई जोगाउने तारणहार रेमिटेन्स बनेको छ। माघसम्म पाँच अर्ब ३० करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको छ, जुन गत वर्षको सोही अवधिमा तुलनामा १६.४ प्रतिशत धेरै हो। विदेशिने नेपालीको संख्या बढेसँगै रेमिटेन्सको आप्रवाह पनि बढेको हो। गत वर्षको तुलनामा वैदेशिक रोजगारका लागि अनुमति लिनेको संख्या ५७ दशमलव ३ प्रतिशतले बढेर तीन लाख १५ हजार हाराहारी पुगेको छ।
आयात खुम्चिएसँगै देशको शोधनान्तर स्थिति पनि एक अर्ब एक करोड अमेरिकी डलर बचतको स्थितिमा पुगेको छ। यो गत वर्षको यही अवधिमा दुई अर्ब सात करोड डलर घाटामा थियो। वैदेशिक कारोबारको स्थिति जनाउने शोधनान्तर खाता उच्च घाटामा जानु देशका लागि चिन्ताजनक अवस्था हो। अहिले शोधनान्तर स्थिति बचतमा रहनुले अर्थतन्त्र सुधारोन्मुख देखाउँछ।
यद्यपि, देशको आम्दानी र खर्चको हिसाब जनाउने चालु खाता भने माघसम्ममा २३ करोड ४६ लाख डलरले घाटामा छ। गत वर्षको सोही अवधिमा यस्तो घाटा ३ अर्ब ४५ करोड अमेरिकी डलर थियो।