मूल्यवृद्धि फेरि ८ प्रतिशत नजिक, सबैभन्दा बढी महँगी काठमाडौंमा

पछिल्ला महीनामा घटिरहेको मूल्यवृद्धि दर माघमा फेरि उकालो चढेको छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्यवृद्धि दर माघमा ७.८८ प्रतिशत पुगेको छ। यो गत वर्षको यही अवधिमा ६.२४ प्रतिशत थियो।
गत भदौमा उच्च विन्दुमा पुगेको मूल्यवृद्धि दर त्यस यताका महीनामा घटिरहेको थियो। भदौ महीनामा ८.६४ प्रतिशत पुगेको थियो। पुसमा मूल्यवृद्धि दर ७.२६ प्रतिशतमा ओर्लिएको थियो। तर, माघमा फेरि मूल्यवृद्धि दर उकालो चढेको देखिएको छ।
खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि १२.३९ प्रतिशत भएको केन्द्रीय ब्यांकले जनाएको छ। खाद्य पदार्थको मूल्यवृद्धि दर उच्च हुँदा न्यून आय भएका समूह थप मर्कामा पर्छन्।
युक्रेन-रुस युद्धपछि गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न, गेडागुडी, तेल आदिको मूल्य बढेको छ। यसको प्रभावस्वरुप नेपाली बजारमा पनि खाद्यवस्तुको भाउ उकालो चढेको हो।
करीब एक चौथाई विपन्न नागरिकको आम्दानीको ठूलो हिस्सा खाद्यवस्तुको खरीदमा सकिन्छ। यसको मूल्य बढ्दा ती समूह सोझै प्रभावित हुन्छन्।
केन्द्रीय ब्यांकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ।
सर्वाधिक धेरै रेस्टुरेण्ट तथा होटल उप-समूहको वार्षिक बिन्दुगत मूल्य १५.२४ प्रतिशतले बढेको छ। सुर्तीजन्य पदार्थको मूल्य १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य ८.७८ प्रतिशत र मरमसलाको मूल्य ८.०४ प्रतिशतले बढेको छ।
त्यसैगरी, यातायातको मूल्य १५.५८ प्रतिशत र स्वास्थ्य सेवाको मूल्य १०.३९ प्रतिशतले बढेको छ। यातायात र स्वास्थ्यमा बढेको मूल्यको भार निम्न र मध्यमवर्गका नागरिकका लागि बढी जोखिमपूर्ण हुन्छ। नेपालको सार्वजनिक यातायात र स्वास्थ्य सेवाले नागरिकको जीवनमा भार थपेको भनी आलोचना हुँदै आएको छ।
घरायसी उपयोगका वस्तुको मूल्य ९.७८ प्रतिशत र फर्निचरको मूल्य ९ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मूल्यवृद्धि दर ८.४७ प्रतिशत पुगेको छ। तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मूल्यवृद्धि छ।
मौद्रिक नीतिले यो वर्ष मूल्यवृद्धि दर ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ। पछिल्ला वर्षमा मौद्रिक नीतिको लक्ष्यभन्दा उच्च मूल्यवृद्धि दर कायम हुँदै आएको छ।