ब्यांकमा बचत र कर्जा दुवैको ब्याजदर घट्ने
वाणिज्य ब्यांकहरूले चैतदेखि कर्जा र बचतको ब्याजदर घटाउने भएका छन्।
ब्याजदर महँगो भएको भन्दै सार्वजनिक आलोचना भइरहेका वेला ब्यांकरहरूको संस्था नेपाल ब्यांकर्स संघले चैत १ गतेदेखि लागू हुने ब्याजदर पुनरवलोकन गरेको हो।
बिहीबार बसेको बैठकले बचतको ब्याजदर ०.४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको हो। तर, तत्काल मुद्दती निक्षेपको ब्याजदर भने परिवर्तन गरिएको छैन।
अहिले बचतको ब्याजदर ६.४ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई न्यूनतम ६ र अधिकतम ८ प्रतिशत कायम गरिनेछ। बचतको ब्याज घटेपछि त्यसले ब्यांकको आधारदर कम हुन्छ जस कारण ब्यांकको लागत घटेर कर्जाको ब्याजदर पनि घट्छ।
मुद्दती निक्षेपको ब्याज भने पुनरवलोकन गरिएको छैन। मुद्दती निक्षेपको ब्याजदर घटाउने अनुमान भए पनि निर्णय भएन। आधारदरमा अधिकतम पाँच प्रतिशत मात्र प्रिमियम लिन पाइने निर्णय संघले गरेको छ। यसअघि ६ प्रतिशतसम्म प्रिमियम लिने निर्णय भएको थियो।
उदाहरणका लागि आधारदर नौ प्रतिशतमा ओर्लिए ऋणीले बढीमा १४ प्रतिशत ब्याजदर तिरेर ऋण लिन पाउनेछन्। यद्यपि, ब्यांकसँगको मोलमोलाइका आधारमा कम ब्याजदरमा ऋण लिने सुविधा पनि ग्राहकलाई छ। नयाँ ऋणको ब्याजदर चैत १ देखि लागू हुने गरी घटे पनि पुराना ऋणीको हकमा वैशाखदेखि मात्रै ब्याजदर घट्नेछ।
संघले गत माघमा पनि १२.१३ प्रतिशत रहेको निक्षेपको ब्याज दर ११ प्रतिशतमा झारेको थियो। ब्यांकरहरूले बैठक बसेर आपसी छलफलबाट ब्याजदर सम्बन्धी निर्णय गर्दै आएका छन्। कतिपय आलोचकहरूले यसलाई ब्यांकरहरूको कार्टेलिङ भनी आलोचना समेत गर्ने गरेका छन्।