बीमा बोर्डका अध्यक्षको राजीनामापत्र पूर्व स्वास्थ्य मन्त्रीको गोजीमा
बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको राजीनामा एक महीना पुग्नै लाग्दा पनि स्वीकृत भएको छैन।
डा. उप्रेतीले गत माघ २५ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका थिए। सरकारले स्वास्थ्य बीमा प्रभावकारी बनाउन चासो नदिएको उनको आरोप थियो।
राजीनामा स्वीकृत गराउन मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लग्नुपर्छ। तर, उप्रेतीको राजीनामापत्र मन्त्रिपरिषद्मा लगिएको छैन।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पूर्व स्वास्थ्य मन्त्री गिरीले राजीनामापत्र आफैंसँग राखेकाले मन्त्रिपरिषद्मा पठाउन नपाएको बताए। राजीनामापत्र नआएकाले फाइल अघि बढाउन नपाएको डा. पोखरेलको भनाइ छ। “राजीनामापत्र मकहाँ आइसकेको छैन,” उनले भने।
पूर्व स्वास्थ्य मन्त्री गिरीका निजी सचिव लीला पौडेल बीमा बोर्डका डा.उप्रेतीसँग कुरा गरेपछि राजीनामापत्र मन्त्रिपरिषद्मा लग्ने भन्दाभन्दै ढिलो भएको बताउँछन्। “डा. उप्रेती र प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्रै राजीनामा स्वीकृत गराउने भन्दाभन्दै ढिलो भयो,” लीला पौडेल भन्छन्।
डा. उप्रेती भने राजीनामा दिइसकेपछि स्वीकृत गर्नुपर्ने तर्क गर्छन्। “मैले राजीनामा बुझाएको मन्त्री पनि सरकारबाट बाहिरिसके, मेरो राजीनामा स्वीकृत भएको खबर आएको छैन,” डा. उप्रेतीले भने।
गिरीसँगै नेकपा (एमाले)का आठ जना मन्त्रीले फागुन १५ गते राजीनामा दिइसकेका छन्।