प्रचण्डजीले एमाले उम्मेदवारलाई भोट हाल्नुहुन्छ: केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनबीच भएको सहमति अनुसार माओवादीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई भोट हाल्ने प्रतिक्रिया दिएका छन्।
राष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अप्ठ्यारो भएको बताए पनि एमाले उम्मेदवारलाई भोट हाल्ने उनको भनाइ थियो।
एमाले अध्यक्ष ओलीले भने, “प्रचण्डजीले मलाई के के अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। तर, उहाँले सम्झौता अनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकीनै छ।”
गत पुस १० गते एमाले र माओवादी लगायत सत्तारूढ गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो। त्यही सहमति अनुसार राष्ट्रपतिको निर्वाचनका लागि एमालेले उम्मेदवार तय गरेको ओलीको भनाइ थियो।
सत्तारूढ गठबन्धन भत्किएर बनेको आठ दलको गठबन्धनले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसक्यो नि भन्ने प्रश्नमा ओली भने, “आठ दलको कहाँ समर्थन छ? चिया खान बोलाएको थियो। चिया खान बोलाएको जति सबै समर्थन हुन्छ?”
राष्ट्रपतिका लागि एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।