एमालेले तत्काल सरकार नछाड्ने
नेकपा (एमाले) तत्काल सरकार नछाड्ने भएको छ।
शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनबीच भएको सहमति कार्यान्वयनमा जोड दिने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रवक्ता पृथ्वीसुब्बा गरुङले भने, “सरकार छोड्ने या बस्ने, गठबन्धन कायम रहने वा नरहने भन्ने आजको विषय होइन। राष्ट्रपतिको उम्मेदवार चयन गर्ने मात्रै हो। पुस १० गते भएको सहमतिमै जानुपर्छ भन्ने हाम्रो जोड छ।”
गत पुस १० गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सरकार गठन गर्ने सहमति भएको थियो। जसमा राष्ट्रपति एमालेलाई दिने र सरकारको नेतृत्व माओवादी र एमालेबीच आधा आधा कार्यकाल गर्ने सहमति थियो। राप्रपाले भने सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।
एमाले सचिवालय बैठकले पुरानै सहमतिमा जोड दिने निर्णय गरेको हो। “पुरानै सहमतिका आधारमा हामीले राष्ट्रपतिको उम्मेदवार चयन गरेका छौं। हाम्रो उम्मेदवारलाई जिताउन सबै दलसँग छलफल गर्छौं,” प्रवक्ता गुरुङले भने।
आठ दलबीच गठबन्धन नबनेको र सामान्य कुराकानी मात्रै भएको उनको भनाइ थियो। फागुन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सहमति बनेको थियो।
त्यस विषयमा प्रतिक्रिया दिंदै गुरुङले भने, “आठ दलीय गठबन्धन बनेकै छैन। सामान्य बसेर कुराकानी गरेको न हो। डकुमेन्टेशन केही भएको छ र? पुरानो गठबन्धन टुट्यो भन्ने केही आएको छ र? आएको छैन नि।”
राष्ट्रपतिको निर्वाचनसम्म एमालेले सरकार नछोड्ने भएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। गुरुङले भने, “फागुन २५ गतेसम्म त धेरै कुरा पाक्छ होला नि!”