रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए। “केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ,” प्रवक्ता महतले भने।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। सभापति देउवाको प्रस्ताव सर्वसम्मत पारित भएको हो।
पार्टी सभापतिले राखेको प्रस्तावलाई एकमतले पारित गरिएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए। “सभापतिजीले प्रस्ताव ल्याउनुभयो, त्यसलाई सर्वसम्मत रूपमा पारित गरेका छौं,” सिटौलाले भने।
फागुन १२ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो। आठ दलमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन्।