बालुवाटार बैठकपछि गगन थापाले भने: चार दल एकै ठाउँमा उभिन्छौं
राष्ट्रपति चुनावका लागि पुरानो गठबन्धनका चार दल एकै ठाउँमा उभिने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस महामन्त्री थापाले आजै साँझ ५ बजे टुङ्गो लगाउने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूको बैठक बसेको हो।
बैठकबारे जानकारी दिंदै महामन्त्री थापाले भने, “हामीले एक-अर्काको कुरा सुन्यौं। हामी एउटा टुङ्गोमा छौं कि ५ बजे एउटै निर्णय गर्छौं, एकै ठाउँमा उभिन्छौं। हामी त्यो टुङ्गोमा छौं।”
चार दलको बैठक झन्डै चार घण्टा चलेको छ। बैठकमा राष्ट्रपतिको चुनावसँगै समसामयिक विषयमा लामो छलफल भएको थापाले बताए।
बैठकमा कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सघाउन प्रस्ताव गरेको थियो। त्यस्तै, माओवादी, एकीकृत समाजवादी र जसपाले आफ्नो उम्मेदवारलाई सघाउन प्रस्ताव गरेका थिए। यी तीन दलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सारेका छन्।
“हामीले हाम्रो उम्मेदवारलाई सहयोग रहोस् भन्ने प्रस्ताव राखेकै छौं। अन्य दलबाट पनि फरक फरक प्रस्ताव आएका छन्। एकै ठाउँमा उभिन्छौं भन्नेमा प्रस्ट छौं,” थापाले भने, “नेपाली कांग्रेसबाट र अन्य तीन दलले पनि राष्ट्रपतिको प्रस्ताव गरेका छन्।”
राष्ट्रपतिको उम्मेदवारका विषयमा टुङ्गोमा पुग्नुअघि आआफ्नो दलमा छलफल गरिने उनको भनाइ छ। “चारै दल एक ठाउँमा उभिन्छौं। त्यसअघि आआफ्नो दलमा छलफल गर्छौं,” थापाले भने।
चारै दलले आआफ्नो पार्टीमा छलफल गरेपछि साँझ ५ बजे फेरि बैठक बस्ने तय भएको छ। त्यही बैठकबाट राष्ट्रपति उम्मेदवारको टुङ्गो लाग्ने थापाको भनाइ छ।
राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदै छ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।