राष्ट्रपति चुनावबारे प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। बालुवाटारमा भएको भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको जनाइएको छ।
राष्ट्रपति निर्वाचनका लागि मनोनयनको दिन नजिकिंदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ। नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेको छ।
एमालेले भने पूर्व सहमति अनुसार आफूले उठाएको उम्मेदवारलाई माओवादीले सघाउनुपर्ने बताउँदै आएको छ। यसै विषयमा दुवै नेताबीच छलफल भएको जनाइएको छ।
यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ।