शिवरात्रिका लागि पशुपतिनाथका चारै ढोका खुला
शिवरात्रिका अवसरमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुलेका छन्।
भक्तजन बिहानैदेखि पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले बताए। जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने पराजुलीले जानकारी दिए।
पशुपति क्षेत्रमा बिहानदेखि हजारौं भक्तजनको भीड लागेको छ। दर्शनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ।
पशुपति क्षेत्रमा स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानी एवं बाहिरका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ।
यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थ सहित बाबाको आवागमन भएको छ । उनीहरूको सङ्ख्या तीन हजारभन्दा बढी छ। तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ।