नामिबिया विरुद्ध नेपालको दुई विकेटको जित
आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत आजदेखि भएको शृङ्खलामा नेपालले नामिबिया विरुद्ध दुई विकेटको जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको नेपालले १४ बल बाँकी रहँदै जित हात पारेको हो। नामिबियाले पूरा ओभर खेल्दै नेपाललाई २८६ रनको टार्गेट दिएको थियो।
उक्त टार्गेट पछ्याउने क्रममा कुशल भुर्तेलले शतक प्रहार गरे। योसँगै आईसीसी क्रिकेट विश्वकप लिग टुमा शतक प्रहार गर्ने उनी नेपालको पहिलो खेलाडी बनेका छन्। भुर्तेलले ११५ बल सामना गर्दै ११३ रन हानेर ४७.२ ओभरमा आउट भए। यसअघि भुर्तेलको ओडीआईमा उच्च स्कोर ८४ थियो।
नेपालका लागि रोहित पौडेलले ७५ बल खेल्दै ७२ रन, ज्ञानेन्द्र मल्लले ३५ बल खेल्दै २५ रन, सन्दीप जोराले २८ बलमा २८ रन र करण केसीले १२ बलमा २० रन हान्न बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।
पाँच विकेट लिएर करण केसी सर्वाधिक विकेट लिने खेलाडी बने। त्यस्तै‚ सन्दीप लामिछानेले तीन विकेट लिए। लामिछाने विरुद्धको बालिका बलात्कार सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।
सोमपाल कामी र कुशल मल्लले समान एक-एक विकेट लिए।