बुस्टर डोजका लागि आयो बाइभ्यालेन्ट खोप
कोभिड-१९ विरुद्धको फाइजरको नयाँ खोप बाइभ्यालेन्ट सोमबार काठमाडौं भित्रिएको छ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको बताए। गाभी मार्फत प्राप्त बाइभ्यालेन्ट खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने चौरासियाले बताए।
नेपालमा पहिलो पटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रूपमा प्रयोग गरिनेछ। ओमिक्रोनको सब-भेरिएन्ट विरुद्ध यो खोप प्रभावकारी मानिएको छ।
कोभ्याक्स सुविधा अन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख डोज चार चरणमा उपलब्ध गराइने सहमति भएको छ। त्यसको पहिलो खेपमा तीन लाख ४५ हजार डोज खोप आएको हो।