सुन्दरबहादुर श्रेष्ठले ल्याए ‘मेरो अनुभव, मेरो अनुभूति’
![सुन्दरबहादुर श्रेष्ठले ल्याए ‘मेरो अनुभव, मेरो अनुभूति’](https://www.himalkhabar.com/uploads/posts/800X600/sundar_bahadur_shresth_(2)_1675604847.jpg)
मत्स्य विकास विभागका पूर्व प्रमुख सुन्दरबहादुर श्रेष्ठको मेरो अनुभव, मेरो अनुभूति पुस्तक आइतबार सार्वजनिक भएको छ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै कृषि विभागका पूर्व महानिर्देशक शिवबहादुर नेपाली प्रधानले यो पुस्तक नेपाली माछापालन तथा कृषिको इतिहास सरह भएकाले नयाँ पुस्तालाई मार्गदर्शक हुने बताए।
समाजमा केही न केही कीर्ति छोडेर जानुपर्छ भन्ने मान्यतालाई लेखकको यो पुस्तकले पूरा गरेको माछाविज्ञ अग्नि नेपालको भनाइ थियो।
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले पुस्तक निर्दलीय पञ्चायती राज्य व्यवस्थामा माछापालन व्यवसायलाई व्यवस्थित गरी कृषि व्यवसायका रूपमा स्थापित गर्न भए-गरेका प्रयासको एक झलक भएको टिप्पणी गरे।
त्यस्तै, नेपाल कृषि महासंघका अध्यक्ष शुभसुन्दर श्रेष्ठले ८७ वर्षको उमेरमा पनि काममा उत्तिकै जमर्को र जाँगर देखाएका लेखक श्रेष्ठले नेपालको माछा विकासमा ठूलो योगदान दिएको बताए।
कार्यक्रममा माछाविज्ञ माधवबहादुर पन्तले नेपालमा माछापालनको जग बसाउने शुरूआतको पुस्ताका सुन्दरबहादुर श्रेष्ठको योगदान प्राकृतिक जलाशयमा माछाको विकासमा पनि रहेको बताए। कार्यक्रमका आयोजक नेपाल मस्त्य समाजका अध्यक्ष प्रमोद रिजालले समाजले नेपालमा माछा विकासका लागि विविध कार्यक्रम गर्दै आएको जनाउँदै नेपालमा कृषि विकासको सन्दर्भमा माछापालन सधैं पछाडि परेको बताए।