चुनाव जित्न व्यवस्थित र बलियो संगठन अनिवार्य रहेछ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गत मंसीरमा सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन्।
अध्यक्ष नेपालले माघ २१ गते पाँचौं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा निर्वाचन परिणाम आफ्नो पक्षमा नआउनुका १६ वटा कारण औंल्याएका छन्। प्रत्यक्षतर्फको भन्दा पनि समानुपातिकतर्फको परिणाम बढी अनपेक्षित रहेको उनको धारणा छ।
‘यस निर्वाचनबाट प्राप्त सबैभन्दा ठूलो शिक्षा भनेको सफलता प्राप्त गर्नका लागि बलियो र व्यवस्थित संगठन अनिवार्य छ भन्ने हो,’ अध्यक्ष नेपालले बैठकमा प्रस्तुत प्रतिवेदनमा भनेका छन्।
आफ्नो पार्टीमा एक लाख ६६ हजार ४२६ संगठित कार्यकर्ता रहे पनि चुनावमा सबै जना परिचालित नभएको उनको निष्कर्ष छ। प्रत्यक्षतर्फ १० सीट जितेको एकीकृत समाजवादीले समानुपातिकमा तीन प्रतिशत ल्याउन नसक्दा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सकेन।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालका अनुसार एकीकृत समाजवादीले अपेक्षा अनुसार मत प्राप्त नगर्नुका कारणहरू यस्ता छन्ः
१) कार्ययोजना कार्यान्वयन नहुनु
२) पार्टी पङ्क्ति परिचालित नहुनु
३) गठबन्धनका दलबाट पूर्ण सहयोग नहुनु
४) उम्मेदवारी नपाउनेको असन्तुष्टि
५) अवसरवादी प्रवृत्ति
६) पैसा बेगर चल्दै नचल्ने प्रवृत्ति
७) मुद्दा उठाउन र महत्त्व बुझाउन नसक्नु
८) सरकारबाट अपेक्षित कार्य नहुनु
९) एकीकृत समाजवादी विरुद्ध चर्को प्रहार हुनु
१०) नकारात्मक प्रचारको प्रभाव
११) नयाँ मतदाताको रुझान नयाँतर्फ हुनु
१२) प्रचारको काम व्यवस्थित नहुनु
१३) निर्वाचन ज्यादै खर्चिलो हुनु
१४) तालमेल हुँदा समानुपातिकमा असर पर्नु
१५) प्रत्यक्षमा केन्द्रित हुँदा समानुपातिकमा असर
१६) निर्वाचन आयोग समेत एकीकृत समाजवादी विरुद्ध हुनु।