राष्ट्रपति पायो भने एमालेलाई कसैले छुन सक्दैन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति नेकपा (एमाले)लाई दिन नहुने तर्क गरेका छन्।
सप्तरीको राजविराजमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी राष्ट्रपतिको चुनावमा नेकपा (माओवादी केन्द्र)ले सोचविचार गर्नुपर्ने बताए। एमालेले सत्ता कब्जा गर्ने दाउ चालिरहेको उनको भनाइ थियो। “‘सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित छ,” नेपालले भने।
एमालेले सभामुख पाइसकेको र अब राष्ट्रपति पनि पाएमा कसैले छुन नसक्ने जिकिर गरे। माओवादी नेताहरूलाई सचेत गराउँदै अध्यक्ष नेपालले भने, “राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन। यो कुरा माओवादीले बुझ्या छन् कि छैनन्?”
एमाले नेतृत्वमा अझै पनि सङ्कीर्ण र असहिष्णु सोच यथावत् रहेको उनको आरोप थियो। त्यसका लागि उनले जनता समाजवादी पार्टी (जसपा)को उदाहरण दिए। नेपालले भने, “जसपा नेतासँगको भेटमा एमालेका नेताले माधव नेपालसित वार्ता गरेका कारण सरकारमा मौका नदिएको कुरा बताएको विषय बाहिर आएको छ। यति असहिष्णु, यति सङ्कीर्ण सोच भएकाबाट के होला?”
उनले राष्ट्रपतिको निर्वाचन आउन अझै बाँकी भए पनि सोचविचार गर्नुपर्ने बताए। उम्मेदवारका विषयमा पनि छलफल हुन बाँकी रहेको नेपालको भनाइ थियो।