राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने माओवादीको निष्कर्ष
नेकपा (माओवादी केन्द्र)का अधिकांश स्थायी समिति सदस्यले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखेका छन्।
माओवादी केन्द्रीय कार्यालय, पेरिस डाँडामा बसेको स्थायी समिति बैठकमा बोलेका नेताहरूले राष्ट्रपति चुनावका विषयमा चर्चा गरेका थिए। “धेरैजसो कमरेडहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने मत राखेका छन्,” माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महराले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको नीति भएको बताए। कसको नेतृत्वमा राष्ट्रिय सहमति भन्ने प्रश्नमा माओवादी प्रवक्ता महराले भने, “एमाले वा कांग्रेसको भन्ने छैन। राष्ट्रिय सहमति कहाँ हुन्छ, राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ।”
बैठकमा पार्टी एकताका विषयमा पनि चर्चा भएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि छलफल चलिरहेको महराले बताए। “व्यक्तिगत रूपमा विप्लवको पार्टीसँग पनि एकतालाई कुरा चलिरहेको छ,” उनले भने।
शुक्रबारको स्थायी समिति बैठकमा स्थायी समिति सदस्यहरू महराले पार्टी एकता सम्बन्धी प्रतिवेदन, जनार्दन शर्माले संगठन सम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कूलिङ सम्बन्धी प्रतिवेदन पेश गरेका थिए। अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको बैठकमै समसामयिक राजनीतिक अवस्थाबारे प्रतिवेदन पेश गरेका थिए।
चारै वटा प्रतिवेदनमाथिको छलफलमा २७ जना स्थायी समितिले सदस्यले बोलेका थिए। अर्को बैठक माघ १६ गते बिहान ११ बजे बस्ने भएको छ।