नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू कार सार्वजनिक गरेको छ।
हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले एसयूभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने कम्पनीले जनाएको छ। आकर्षक डिजाइन, विशिष्ट सुविधा, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण नयाँ हुण्डाई भेन्यूले विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको कम्पनीले विज्ञप्तिमा दाबी गरेको छ।
नयाँ हुन्डाई भेन्यूको फराकिलो बनावट र आकर्षक इन्टेरियरका कारण निकै आरामदायी भएको, बाह्य बनावट र सज्जा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। यो कारमा सुविधाजनक चालक सीट, वायरलेस फोन चार्जर, स्मार्ट सनरुफ लगायत सुविधा रहेको दाबी गरिएको छ। नयाँ भेन्यूमा सुरक्षाका लागि दुई वटा एअरब्याग, पार्किङमा सहयोग गर्ने गाडीको पछाडिको क्यामेरा, पहाडी क्षेत्रमा सहयोग गर्ने प्रणाली सहितका सुरक्षाका विभिन्न सुविधा राखिएका छन्।
तीन प्रकारमा उपलब्ध नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य रु.३९ लाख ९६ हजार कायम गरिएको छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत यो गाडी खरीद गर्न सकिने जनाएको छ।