म्याच र स्पट फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ, केही खेलाडी अनुसन्धानको घेरामा
![म्याच र स्पट फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ, केही खेलाडी अनुसन्धानको घेरामा](https://www.himalkhabar.com/uploads/posts/800X600/mahabub_adil_1674461795.jpg)
नेपाल टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोपमा दुई खेलाडी पक्राउ परेका छन् भने थप केही खेलाडी अनुसन्धानको घेरामा रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार बिहान क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको हो। दुवै जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ।
काठमाडौंमा पुस ९ देखि २७ गतेसम्म भएको टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला चलेपछि सीआईबीले अनुसन्धान थालेको थियो। सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको थियो।
छानबिन टोलीले अनुसन्धान गरिरहेको छ। त्यही क्रममा महबुब र आदिललाई पक्राउ गरेको जनाइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
म्याच फिक्सिङमा खेल्नुअघि नै खेल हार्ने वा जित्ने भन्ने तय गरिन्छ। स्पट फिक्सिङमा कुनै एक इभेन्टमा यस्तो गर्ने भन्ने तय गरिन्छ। जस्तो- बलरले एउटा ओभरमा यति बल हान्न सक्ने गरी फाल्छु, यति बल वाइड फाल्छु, ब्याटरले यति रनमा आउट हुन्छु भन्ने लगायत तय गरिन्छ।
नेपाल टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङका भएको भन्ने आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ। सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले हिमालखबरसँग भने, “ठूलो अपरेशन चलिरहेको छ, थुप्रै खेलाडी अनुसन्धानको घेरामा छन्। अनुसन्धान जारी छ।”
अनुसन्धान जारी रहेकाले अहिले कसैका बारेमा केही भन्न नसकिने एआईजी सुवेदीको भनाइ छ।