राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सहमति हुनुपर्ने बताए। “एकदम राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा,” ओलीले भने, “नेकपा (एमाले)ले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।”
उनले नेपाली कांग्रेसका क्रियाकलापले अशुभ सङ्केत गरेको जिकिर गरे। कार्यकारीमा भोट हाल्न मिल्ने तर एमालेको विरोध गर्नुपर्ने कुरा अमिल्दो भएको बताए।
“सरकारको समर्थन गर्ने, सरकारमा हिस्सेदारको विरोध गर्ने,” कांग्रेसप्रति लक्षित गर्दै ओलीले भने, “बेलगाम चल्ने कुरा, थितिमा नबाँधिने कुरा, विधिमा नबाँधिने कुरा, प्रणालीका प्रबन्धभित्र नबाँधिने कुरा, प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्ने कुरा, यो नै अशुभको सङ्केत हो।”