सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित
![सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित](https://www.himalkhabar.com/uploads/posts/800X600/devraj_ghimire_1674118643.jpg)
प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।
बिहीबार प्रतिनिधि सभामा भएको निर्वाचनमा उनी बहुमतले सभामुख निर्वाचित भएका हुन्। उनलाई एमालेसँगै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मत दिएका हुन्।
घिमिरेको पक्षमा १६७ मत परेको थियो। उनको विपक्षमा १०० मत पर्यो भने एक जना तटस्थ रहेका थिए। मतदानमा २६८ सांसद सहभागी थिए।
सत्तारूढ दलहरूका तर्फबाट एमाले सांसद घिमिरे उम्मेदवार बनेका थिए। उनलाई सभामुख चयन गर्न सांसद सुवास नेम्वाङले प्रतिनिधि सभामा प्रस्ताव पेश गरेका थिए। उनको प्रस्ताव बहुमतले पारित भएको हो।
त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट सांसद ईश्वरी न्यौपाने सभामुखकी उम्मेदवार बनेकी थिइन्। न्यौपानेलाई सभामुख चयन गर्न कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रस्ताव गरेका थिए। एमाले सांसद घिमिरे बहुमतले निर्वाचित भएपछि कांग्रेस सांसद न्यौपानेलाई सभामुख बनाउन गरिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नु परेन।