हुकरको पुस्तक ‘न्याचुरल हिस्ट्री अफ कञ्चनजंघा’ पुनः प्रकाशित
![हुकरको पुस्तक ‘न्याचुरल हिस्ट्री अफ कञ्चनजंघा’ पुनः प्रकाशित](https://www.himalkhabar.com/uploads/posts/800X600/kanchanjungh_1673447260.jpg)
प्रसिद्ध जीव वैज्ञानिक चार्ल्स डार्विनका दौंतरी जोसेफ डाल्टन हुकर लिखित ‘न्याचुरल हिस्ट्री अफ कञ्चनजंघा’ को अंग्रेजी संस्करण पुनः प्रकाशित भएको छ।
हुकरले सन् १८४८ मा इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ भ्रमण गरेर एउटा आलेख तत्कालीन ‘द हिमालयन’ जर्नलमा ‘नोट्स अफ ए न्याचुरलिस्ट’ शीर्षकमा छपाएका थिए। सोही आलेख पछि पुस्तकका रुपमा आएको थियो। वर्षौंअघि बेलायतमा छापिएको यो पुस्तक अप्राप्य जस्तै हुँदा नेपालमा पुनः प्रकाशन गरिएको प्रकाशक संस्था एजुकेशन पब्लिसिङ हाउसले जनाएको छ।
प्रसिद्ध अस्ट्रेलियाली वनस्पतिविद् विन्फ्रिड एम कर्टिसले हुकरको पुस्तक धेरै अर्थमा वैज्ञानिकलाई आकर्षित गर्ने खालको भएको बताएकी छन्। “हुकरले कञ्चनजंघा क्षेत्रको विस्तृत स्थलगत सर्वेक्षण पनि गरे, जुन पछिल्ला दिनमा आधिकारिक नक्सांकनको आधार बन्यो,” कर्टिसको टिप्पणी छ।
आफ्नो पालाका प्रसिद्ध वनस्पतिविद् हुकर डार्विनको हितैषी र प्राकृतिक छनोटको सिद्धान्तका व्याख्याताका रुपमा चिनिन्छन्। वनस्पतिमा रुचि राख्ने हुकरले आफूलाई स्थापित गर्ने क्रममा वनस्पति विज्ञानलाई एउटा विधाको रुपमा विकास गरेको ससेक्स युनिभर्सिटीका प्राकृतिक विज्ञानका प्राध्यापक जिम इन्डस्र्बीको टिप्पणी छ। “१९औं शताब्दिको प्राकृतिक विज्ञानको बुझाइलाई फराकिलो पार्नमा हुकरको ठूलो योगदान छ,” इन्डस्र्बीले भनेका छन्।
१८८ पृष्ठको ‘न्याचुरल हिस्ट्री अफ कञ्चनजंघा’ मा हुकर आफैंले बनाएका ३० वटा चित्र समावेश छन्। जसमा आठ वटा रंगीन चित्र पनि छन्। केही महीनाअघि सोही पुस्तकको नेपाली अनुवाद ‘कञ्चनजंघा जुहार’ पनि नेपालबाटै प्रकाशित भएको थियो।
नेपाली अनुवादक हस्त गुरुङले पुस्तक नेपाल चिनाउने आधार भएको बताएका छन्। “हाम्रो भूगोल, वनस्पति, त्यस वेलाको जीवनशैली, नेपालको महत्व जस्ता कुरा पस्किएको हुनाले यो किताब एउटा जुहारत जस्तो छ। यसमा जे जति जानकारी छन् ती सबै हाम्रा लागि उपयोगी छन्,” गुरुङको टिप्पणी छ, “किताब बहुआयामिक छ र यसले भूगर्भ, हिमाल, डाँडापाखाको उत्पत्ति जस्ता कुरा समेटेको छ। पुस्तक नेपालबारे जान्न चाहने नयाँ पुराना सबै पुस्ताका मानिसका लागि हो।”