लुम्बिनी बन्यो पहिलो च्याम्पियन
![लुम्बिनी बन्यो पहिलो च्याम्पियन](https://www.himalkhabar.com/uploads/posts/800X600/biratnagar_1_1673432590.jpg)
लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको पहिलो च्याम्पियन बनेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले विराटनगरलाई २४ रनले पराजित गरेको छ।
लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर आठ विकेटको क्षतिमा १०९ रनमै समेटियो। विराटनगरका लागि अर्जुन साउँदले ३४, पृथु बास्कोटाले ३१ र हुसैन तलतले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
लुम्बिनीका लागि हर्मिन सिंह र सागर ढकालले दुई–दुई तथा विपुल शर्मा र किशोर महतोले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रनको सामान्य स्कोर बनाएको थियो। लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१, हर्मित सिंहले ३०, दीपेन्द्रसिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाएका थिए।
विराटनगरका बलरले कसिलो बलिङ गरेका थिए। विराटनगरका लागि नन्दन यादव र राज नन्ननले दुई–दुई तथा हुसैन तलत, किओन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलले एक–एक विकेट लिएका थिए।