ग्लोबल आईएमई र ब्यांक अफ काठमाण्डूको एकीकृत कारोबार शुरू
ग्लोबल आईएमई ब्यांक र ब्यांक अफ काठमाण्डूले मर्जरपछि ग्लोबल आईएमई ब्यांकको नामबाट एकीकृत कारोबार शुरू गरेका छन्।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत कारोबारको शुभारम्भ गरेका थिए। कार्यक्रममा बोल्दै ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरसँगै अधिकांश वित्तीय सूचकहरूमा ग्लोबल आईएमई नेपालको नम्बर एक ब्यांक बनेको बताए।
ग्लोबल आईएमई ब्यांकमा पाँच वटा वाणिज्य ब्यांक, १० वटा विकास ब्यांक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन्।
मर्जरपछि ब्यांकको कुल सम्पत्ति रु.पाँच खर्ब पाँच अर्ब, कुल पूँजी रु.५७ अर्ब, चुक्ता पूँजी रु.३५.७७ अर्ब, कुल निक्षेप रु.चार खर्ब १२ अर्ब र कुल कर्जा रु.तीन खर्ब ७७ अर्ब भएको छ। मर्जरपछि बन्ने नयाँ ब्यांक कुल पुँजी, चुक्ता पुँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो ब्यांक बनेको छ।
दुई ब्यांकहरुको मर्जरपछि कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित ब्यांकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक रहेको ब्यांकले जनाएको छ।