रोनाल्डोको एशिया यात्रा कस्तो रहला?
पोर्चुगली फूटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब ‘अल नसिर’ मा आबद्ध भएसँगै अनेक अड्कलबाजी लगाउन थालिएको छ।
कतार विश्वकप २०२२ मा क्लबविहीन अवस्थामा खेलिरहेका पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी अरेबियाको क्लब ‘अल नसिर’ मा आबद्ध भएका छन्। र, धनी साउदी क्लबले उनलाई ठूलै रकममा अनुबन्धन गरेको छ। गत शुक्रबार रोनाल्डो क्लबमा आउने निश्चित भएको सूचना जारी गर्दै क्लबले ‘क्रिस्टियानो तिमीलाई नयाँ घरमा स्वागत छ’ भन्ने ट्वीट गरेको छ। ट्वीटरमा हालिएको तस्वीरमा रोनाल्डो आफ्नो प्रिय ७ नम्बरको जर्सीमा देखिएका छन्।
विश्व खेल इतिहासमै अल नसिरले क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमानी रकम तिरेको छ। रोनाल्डोले सन् २०२५ सम्मका लागि प्रति वर्ष १७३ मिलियन पाउन्ड पाउनेछन्। एजेन्सीहरूका अनुसार, रोनाल्डोको तलब ६३ मिलियन पाउन्ड हो र बाँकी रकम उनले व्यापारिक विज्ञापन र अन्य प्रोयोजनबाट पाउनेछन्। अल नसिरसँगको उनको यो सम्झौता खेलसँग मात्र सीमित नभएर खेल प्रशासनसम्म तन्किएको छ। अल नसिर राज्यनियन्त्रित क्लब हो र यससँगको रोनाल्डोको सम्बन्ध खेल बाहेक साउदी अरेबियाले सन् २०३० को विश्वकप आयोजना गर्ने विषयमा पनि हुनेछ र उनले खेल राजदूतको भूमिका पनि निर्वाह गर्नेछन्।
म्यानचेस्टरले उनलाई मुक्त गरिदिए पनि यूरोपका कुनै क्लबले उनलाई किन लिन चाहेनन् भन्ने प्रश्न पनि उठ्छ।
यूरोपेली क्लबमा दबदबा बनाउन सफल खेलाडीको साउदीको यात्रा विगतमा भएका क्रिया-प्रतिक्रियाको परिणति थियो। र, यो तब शुरू भयो जब उनले नेदरल्यान्ड्सको ‘टकटीभी’ को एउटा अन्तर्वार्तामा बेलायती पत्रकार पायर्स मोर्गनसँग धेरैको भनाइमा ‘सीमा बाहिर गएर’ कुरा गरे। त्यसपछि म्यानचेस्टर क्लबसँग उनको सम्बन्ध बिग्रियो र क्लबले उनलाई निरन्तरता दिन चाहेन। आफ्नो प्रदर्शन खस्किएपछि क्लबले नियुक्त गरेको नयाँ कोच एरिस ट्यान ह्यागसँग रोनाल्डोको सम्बन्ध पनि बिग्रिंदै थियो।
सो टीभी अन्तर्वार्तामा रोनाल्डोले क्लबले आफूलाई धोका दिएको बताए। उनले कोच एरिसप्रति आफ्नो कुनै सम्मान नरहेको बताउन पनि चुकेनन्। त्यसपछि त क्लबले उनलाई अन्त कतै जान बाटो खुला गरेर ‘फ्री एजेन्ट’ बनाइदियो। त्यसअघि म्यानचेस्टरको धेरै खेलमा रोनाल्डो जगेडा खेलाडीका रूपमा बेन्चमा बस्नुपरेको थियो। कोचसँगको असमझदारी बढ्दै गर्दा उनले धेरै पटक दुर्व्यवहार गरेको सारा संसारले देखिरहेको थियो। टोटनह्यामसँगको खेलमा त उनले खेल जारी रहँदै गर्दा मैदान छोडेर निस्किए। र, जति पनि अवसर उनले पाए तिनमा उनले राम्रो खेल देखाउन सकेनन्।
मोर्गनसँगको अन्तर्वार्तामा कोचबारे बोल्दै उनले ‘म उनलाई आदर गर्दिनँ’ भन्नु नै उनको अहम्को प्रदर्शन हो। जसले उनलाई आरोलो यात्रामा लग्यो। म्यानचेस्टरले उनलाई मुक्त गरिदिए पनि यूरोपका कुनै क्लबले उनलाई किन लिन चाहेनन् भन्ने प्रश्न पनि उठ्छ। आखिर काम राम्रो गरेर मात्र हुँदैन, चरित्र पनि ठीक हुनुपर्छ भन्ने भनाइ रोनाल्डोको हकमा लागू भएको छ।
शुरूमा जर्मन क्लब बार्यन म्युनिख, स्पेनी क्लब एथ्लेटिको मेड्रिड र इङ्लिस क्लब चेल्सीले उनलाई लिन रुचि देखाएको चर्चा सुनिएको थियो। तर, ती सम्भावनाले कुनै आकार नै लिन पाएनन्। किनभने, उनी आफ्नो मूल्य घटाउन चाहिरहेका थिएनन्। र, महँगोमा उनलाई लिनु भनेको खेल र चरित्रको दोहोरो चुनौती झेल्नु हो भन्ने क्लबहरूले बुझेको हुनुपर्छ।

सन् २००३ मा म्यानचेस्टर आएपछि रोनाल्डोले आफ्नो खेलकौशल देखाउँदै आफूलाई संसारकै उत्कृष्ट खेलाडीका रूपमा उभ्याउन सफल भएका थिए। उनले तीन वटा प्रिमियर लिग, एफए कप, दुई वटा लिग कप, च्याम्पियन लिग र जितेका पाँचमध्ये करिअरको पहिलो बालेन डिओर अवार्ड उनले यही क्लबबाट जितेका थिए। कतार विश्वकपमा पोर्चुगलको खराब प्रदर्शन भए तापनि रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी हुन्।
उनले गरेको १४० गोल यूरोपेली क्लब प्रतियोगिताको उच्चतम कीर्तिमान हो। उनी ४५० गोल सहित रियल म्याड्रिडका उच्चतम गोलकर्ता पनि हुन्। त्यति मात्रै होइन, ११८ गोलका साथ उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्चतम गोल गर्ने कीर्तिमानी पोर्चुगिज खेलाडी पनि हुन्।
अल नसिरसँग सम्झौता भएपछि रोनाल्डोले आफू ‘नयाँ मुलुकमा नयाँ फूटबलको स्वाद लिन आतुर भएको’ जनाएका थिए। उनले आफूले यूरोपेली भूमिमा हासिल गरेको सफलता एशियाली भूमिमा पनि दोहोर्याउन यो सही समय भएको धारणा पनि व्यक्त गरेका छन्। सन् १९५५ मा स्थापना भएको अल नसिर अरबको सफल क्लबमा गनिन्छ जसको कीर्तिमानी विजयको लामो शृङ्खला छ। अल नसिरमा क्यामरुनी स्ट्राइकर भिन्सेन्ट अबुबाकर पनि सन् २०२१ देखि खेलिरहेका छन्। त्यस्तै, ब्राजिलियन डिफेन्सिभ मिडफिल्डर लुइज गुस्ताबो र आर्सनलका पूर्व खेलाडी डेभिड ओस्पिना पनि सोही क्लबमा छन्। क्रिस्टियानो रोनाल्डोको खाडीयात्रालाई लिएर म्यान्चेस्टर युनाइटेडका कोच एसिरले आफू भविष्यमा केन्द्रित हुने बताउँदै कुनै टिप्पणी गर्न चाहेनन्।
राम्रो खेल खेलेर यूरोपमा बनेको छविलाई एशियामा पनि निरन्तरता दिन सके रोनाल्डोले आउँदो लामो समयसम्म एशियाली युवाहरूमाझ प्रेरणा पनि बन्न सक्नेछन्।
उता, अल नसिरले भने रोनाल्डोको प्रसिद्धिलाई उपयोग गर्ने मौका पाएको छ। क्लबका सामाजिक सञ्जालमा फलोअरको संख्या दोब्बर भएको छ भने रोनाल्डो क्लबमा आए भन्ने समाचार फैलिने बित्तिकै विश्वभरका मानिसले क्लबको वेबसाइटमा लगइन गर्दा क्लबको वेबसाइट नै क्र्यास हुन पुगेको थियो।
हरेक बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै यूरोपेली फुटबलमा दबदबा राख्न सफल क्रिस्टियानो रोनाल्डोको अल नसिरको यात्रालाई उनको खेल जीवनको ओरोलो यात्रा भन्न नमिल्ला। आखिर हालै दिवङ्गत सार्वकालिक महान् खेलाडी पेलेले पनि खेल जीवनको आखिरी समयमा आर्थिक आर्जनका लागि न्यूयोर्कको कसमस क्लबमा आबद्ध भएका थिए। आर्थिक दृष्टिले रोनोल्डोका लागि यो ठूलै उपलब्धि हो र साथमा आफ्नो चरित्र सुधार्ने मौका पनि। राम्रो खेल खेलेर यूरोपमा बनेको छविलाई ३७ वर्षीय रोनाल्डोले एशियामा पनि निरन्तरता दिन सके भने उनी चम्कने मात्रै छैनन्, आउँदो लामो समयसम्म उनी एशियाली युवाहरूमाझ प्रेरणा पनि बन्न सक्नेछन्।