फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

यातायात व्यवस्था विभागले सरकारी सवारी साधनमा फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको छ।
आगामी चैतबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा कारबाही गरिने भएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुई हजार रुपैयाँ जरिवाना गरिने विभागले जनाएको छ।
सरकारी गाडीले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक टोकराज पाण्डेले बताए। इम्बोस्ड नम्बर जडान गरिएको गाडीलाई चैतबाट कारबाही गरिने उनले बताए।
“सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रूपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौं,” पाण्डेले भने, “फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ, सेतो प्लेटले पनि कर नतिरी गाडी चलाउन पाउँदैनन्।”
इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रूपमा कर क्लिअर भएको हुनुपर्ने विभागले जनाएको छ। इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक पाण्डेको भनाइ छ।