लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्।
बुधबार बसेको लोसपा संसदीय दलको बैठकले ठाकुरलाई संसदीय दलको नेता चयन गरेको हो। बैठकले ठाकुरलाई सर्वसम्मत रूपमा नेता चयन गरेको लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिएका छन्।
प्रतिनिधि सभामा लोसपाका चार जना सांसद छन्। उनीहरू सबै प्रत्यक्ष निर्वाचित भएका हुन्।
त्यस्तै, आजै नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्। उनी महामन्त्री गगन थापालाई पराजित गर्दै संसदीय दलको नेता बनेका हुन्।
नेकपा (एमाले) संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भइसकेका छन्।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई संसदीय दलको नेता चयन गरिसकेका छन्।