एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्।
काठमाडौंमा सोमबार बसेको एकीकृत समाजवादीका सांसदहरूको बैठकले नेपाललाई संसदीय दलको नेता चयन गरेको हो। उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए।
त्यस्तै, संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डे चुनिएका छन्। बैठकले संसदीय दलको प्रमुख सचेतकमा प्रकाश ज्वालालाई चयन गरेको छ।
यसअघि आयोजित नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनकै सरकार बन्ने बताएका थिए। अहिले गठबन्धनलाई नै अगाडि बढाउनुपर्नेमा उनको जोड थियो।