व्यापारी पोसेर बर्बाद बनाइएको बालमन्दिर
![व्यापारी पोसेर बर्बाद बनाइएको बालमन्दिर](https://www.himalkhabar.com/uploads/posts/800X600/dipa-dahal-main-1715944476.jpg)
बेसहारा बालबालिकालाई सहारा दिन खोलिएको संस्थाको जग्गा विना प्रतिस्पर्धा, कौडीको भाउमा व्यापारी घरानालाई सुम्पिइएको प्रकरण खोतल्दै जाँदा राजनीतिक दलसम्मै जोडिएको पाइयो।
२०७९ कात्तिक ५ भन्नासाथ म दुई कुरा सम्झन्छु- एउटा, म कार्यरत उकालो अनलाइनको आरम्भ दिन। अर्को, त्यसैमा छापिएको बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रूपले यसरी गर्यो कब्जा शीर्षक समाचार।
समाचारले पहिलो दिन नै उकालोप्रति धेरैको ध्यान तान्यो। मलाई चाहिं एकातिर बधाई, अर्कातिर चेतावनी आउन थाल्यो। सचेत गराउनेहरू भन्थे, ‘यति ठूलो व्यापारी घराना विरुद्ध समाचार लेख्नुभएको छ, विचार गर्नुहोला।’
म विचार नै गरिरहेकी थिएँ, तर के होला भनेर होइन, यस्तै अर्को खोजमूलक समाचार कता पाइएला भनेर। सचेत पत्रकार यस्ता प्रतिक्रियाले अड्किएर बस्दैन पनि, जो समाचारै पिच्छे आइरहेकै हुन्छन्। अनि समाचारै पिच्छे खोज्नुपर्ने थप विषय पनि जोडिएर आइरहेका हुन्छन्। सम्पादक सुजित महतले भने, “बालमन्दिरको जग्गामा पनि लफडा रहेको सुनेको छु, त्यहाँकी अध्यक्षलाई भेट न।”
भोलिपल्टै नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई भेट्न नक्साल पुगें। उनी खूबै चिन्तित देखिन्थिन्। कारण रहेछ- कुनै वेलाको धनी संस्थामा अहिले अनाथ बालबालिकालाई खुवाउने दूध जुटाउन समेत हम्मे पर्नु। संस्थाको मुख्य सम्पत्ति रहेको जग्गा यति वेला अरूकै कब्जामा पुगिसकेको थियो। संगठनको कार्यसमिति यति निरीह भइसकेछ कि आफ्नै जग्गा फर्काउने पहल गर्न सकेको रहेनछ। ऊसँग आवश्यक प्रमाण नै रहेनछन्।
अध्यक्ष न्यौपानेबाट त्यहाँको जग्गा राजनीतिक दलको आडमा व्यापारिक घरानाले हडपेको ‘क्लू’सम्म पाएँ। सँगै बालगृह घुमाइन्। बालबालिका राख्न बनाइएको टहरा निकै जीर्ण देखिन्थ्यो। जस्तापाता खिइएका थिए। ओसिलो भुइँमै बालबालिकाको ओछ्यान थियो। न्यानो ओढ्ने थिएन। मानौं, अनाथ बालबालिकालाई सहारा होइन, सजाय दिइएको हो।
यो बिजोग देखेपछि मलाई लाग्यो- लेख्नु त जसरी पनि पर्छ नै। तर कसरी? लेख्न मिल्ने ‘डकुमेन्ट’ एउटै थिएन। अब न्यौपानेले दिएको ‘क्लू’ पछ्याउँदै व्यापारीले ती जग्गा सस्तो भाडामा, त्यो पनि विना प्रतिस्पर्धा कसरी फुत्काए भनेर पत्ता लगाउनु थियो। यसकै लागि संगठनका पूर्व पदाधिकारी र कर्मचारीसम्म पुगें। तर कसैले अनभिज्ञता दर्शाए त कतिले मुख खोल्नै चाहेनन्।
पत्रकार दिपा दाहाल। तस्वीरहरू : सुमन नेपाली/हिमालखबरयो अस्पष्टता र मौनताकै बीचबाट एउटा तथ्य भने खुस्किसकेको थियो- यो दुरवस्थामा संगठनकी पूर्व अध्यक्ष रीता सिंह वैद्यको मुख्य भूमिका छ। उनीसँग कुरा गर्न खोज्दा पटक पटक पन्छाइन्। व्यापारीलाई जग्गा सुम्पिइएकोबारे सोध्दा भनिन्, “मलाई थाहा छैन, जेसुकै गर्नुस्।”
बालमन्दिरको जग्गामा यति वेला बृहस्पति विद्या सदन ठडिइसकेको थियो। ‘सेटिङ’ मिलाएर वर्षौंदेखि दोहन गरिरहेका व्यापारी कालान्तरमा जग्गै फुत्काउने वा अनन्तकालसम्म ओगटिरहने प्रपञ्चमा थिए। यही पत्ता लगाउन म थप सम्भावित स्रोतको खोजीमा खटिइरहें।
त्यही क्रममा संगठनका केही पूर्व कर्मचारीले सघाए। उनीहरूबाट मैले संगठनको तत्कालीन समिति र बृहस्पतिबीच भएका सम्झौताका कागजात मालपोत, वडा, कम्पनी रजिस्ट्रार आदि कार्यालयमा भेटिने सुइँको पाएँ। केही कागजात हात पारें पनि।
स्रोतहरूको लहरो पछ्याउँदै जाँदा दरबारका केही व्यक्तिसँग पनि सम्पर्क भयो। उनीहरूका अनुसार २०१७ सालमा राजा महेन्द्रको निम्तो मान्न आएकी बेलायती महारानी एलिजाबेथ द्वितीयाले सडक बालबालिकालाई दरबारले हेर्नुपर्ने सुझाएपछि बडामहारानी रत्नराज्यलक्ष्मीको सक्रियतामा बाल संगठन खोलिएको रहेछ। त्यसका लागि राणा परिवारको जग्गा अधिग्रहण गरिएको रहेछ।
केही समयमै देशका ५२ स्थानमा थप जग्गा जोडिएछ। यसबारे मलाई रत्नराज्यलक्ष्मीसँग पनि अन्तर्वार्ता गर्न मन लाग्यो। पहिल्यै पनि फरक स्टोरीका सन्दर्भमा चिनजान भइसकेकाले सम्पर्क गर्न गाह्रो थिएन। तर राजनीतिसँग जोडिएको विषय भन्दै कुराकानी गर्न मान्नु भएन।
त्यसपछि मेरो सम्पर्क संगठनका पूर्व अध्यक्ष ठाकुरप्रसाद मैनालीसँग भयो। बालमन्दिरको सम्पत्ति हिनामिना भएको, बालबालिका बेचिएको घटनाले आफूलाई असह्य भएको उनले बताए। दरबारले २०४४ सालमा मैनालीलाई अध्यक्ष बनाएको रहेछ। दरबार बाहिरबाट अध्यक्ष बन्ने पहिलो व्यक्ति रहेका उनको पालामा संगठनमा निकै राम्रा काम भएका रहेछन्।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनासँगै संगठनको नेतृत्वमा रीता सिंह आइन्। कार्यकाल एक वर्ष बाँकी छँदै मैनालीलाई हटाइयो। सिंहको नियुक्तिपछि नै संगठनको अधोगति शुरू भएको देखिन्छ। उनकै पालामा जग्गा भाडामा दिन र बेच्न मिल्ने प्रावधान ल्याइएको कागजातले देखाउँछन्।
राजनीतिक साइनो
बृहस्पति विद्यासदनका संस्थापक पुरुषोत्तमराज जोशीसँगको कुराकानीबाट यसमा जोडिएको राजनीतिक ‘कनेक्सन’ बुझ्न सहज भयो। भिडिओ अन्तर्वार्तामा कांग्रेसका तत्कालीन नेता गणेशमान सिंहसँगको मित्रताका कारणले संगठनको जग्गा भाडामा पाएको बताएका उनले क्यामेरा अफ गरेपछि भनेका थिए, “रीता सिंह त केही जान्नुहुन्नथ्यो, सबै काममा गणेशमानकै सल्लाह अनुसार चल्नुहुन्थ्यो।” गणेशमानकी छोरी हुन् रीता।
रीता सिंहको अभिव्यक्तिबाट पनि यस्तै आशय झल्किन्थ्यो। पछि अन्तर्वार्ता गर्न तयार भएकी उनले भनेकी थिइन्, “मलाई सोसल वर्क गर्न मन भएकैले बाबाले बालमन्दिरमा पठाउनुभएको थियो। तर त्यहाँ काम गर्दै गएपछि थाहा भयो, यो त निकै विशाल रहेछ।”
![deepa dahal (6).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/deepa dahal/deepa dahal (6).jpg)
यसरी हेर्दा अनुभवी व्यक्ति हटाएर अनुभवहीनलाई ल्याउनु नै बालमन्दिर खस्किनुको कारण रहेछ। सिंह अध्यक्ष भएपछि २०४९ सालमा बृहस्पतिलाई विना प्रतिस्पर्धा नौ रोपनी जग्गा २०५२ सालसम्मलाई भाडामा दिइन्छ, कौडीको भाउमा। त्यसपछि २०५३ सालमा २०६१ सम्मलाई जग्गा दिइएकोमा २०५८ सालमा अर्को सम्झौता गरेर भाडाको म्याद २०८८ सालसम्म लम्ब्याइन्छ। यसबीच बृहस्पतिले जग्गा थपेर १४ रोपनी पुर्याइसकेको हुन्छ।
यतिले पनि नपुगेर २०५९ सालमा अर्को १३ रोपनी समेत थपेर २०८९ सालसम्मको सम्झौता गरिन्छ। यस पटक भने सम्झौताको प्रक्रिया र भाडादरबारे संगठनकै सदस्यले प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिन्छन्। आयोगले सम्झौता रद्द गर्न निर्देशन दिन्छ। त्यसपछि बृहस्पतिका सञ्चालकले अदालत गुहार्छन्। यही छेकोमा अन्य व्यापारी जग्गा उम्काउने ‘सेटिङ’ मा लाग्छन्।
संगठनले व्यापारी मनोज मिश्रलाई भाडामा दिने निर्णय गर्छ। उसैगरी विना प्रतिस्पर्धा, कौडीको भाउमा। कांग्रेस नेता प्रकाशमान सिंह निकट रहेका मिश्रले त्यही सम्बन्ध उपयोग गरेर जग्गा फुत्काएको उनीसँगको अन्तर्वार्ताबाट बुझिन्थ्यो।
बृहस्पतिको मुद्दा अदालतमा विचाराधीन हुन्छ। यही मेसोमा संगठन र बृहस्पतिले फेरि मेलमिलाप गरी मुद्दा तामेलीमा राख्न संयुक्त निवेदन दिन्छन्। मिश्रको कम्पनीलाई दिइएको जग्गा फेरि बृहस्पतिकै हातमा पुग्छ। २०७२ जेठ २१ गते मिलापत्र गरेका संगठन र बृहस्पतिले सोही वर्ष साउन ३ गते अर्को पूरक सम्झौता गर्छन् जुन अझ डरलाग्दो छ। यसपालि मिश्रलाई दिइएकोभन्दा पनि कम भाडादर राखेर कुल २८ रोपनी पाँच आना एक पैसा जग्गा सुम्पिइन्छ, त्यो पनि २१३२ सालसम्मलाई।
विशाल ग्रूपको प्रवेश
यति विवरण जुटिसकेपछि समाचार लगभग तयार भयो। प्रकाशनको तयारी हुँदै थियो। त्यही वेला बृहस्पति स्कूलका केही पूर्व कर्मचारीले २०७२ सालको सम्झौतामा विशाल ग्रूपको पनि संलग्नता रहेको सूचना दिए। अब त्यसैको खोजीमा लागें। तर मैले सूचना खोजिरहेको सूचना विशाल ग्रूपमा पुगिसकेछ। त्यसैले जहाँ जहाँ पुग्थें, असहयोग भइरह्यो। विशाल ग्रूपका व्यक्ति म पुग्ने स्रोतसम्मै परिचालित थिए। उनीहरूले मलाई पछ्याउँदै केरकार पनि गरेका थिए। पछि पछि त मलाई बृहस्पतिभित्र छिर्नै रोक लगाइयो। त्यसपछि सूचना खोज्दै कम्पनी रजिस्ट्रारको कार्यालय पुगें। त्यहाँ प्राप्त कागजातबाट बृहस्पतिमा संलग्न अधिकांश व्यक्ति विशाल ग्रूपकै रहेको प्रमाणित भयो।
यस प्रकरणमा कांग्रेसका उच्च तहका नेता पनि जोडिएका थिए। मैले रीता सिंहलाई फोन गर्दादेखि नै उनीहरू चनाखा भइसकेका रहेछन्। त्यसैले बाल संगठनबारे नराम्रो समाचार नलेख्न भन्दै नेताहरूबाटै फोन आयो।
यो रिपोर्ट तयार पार्न मैले पूरै साढे दुई महीना खर्चिएँ। यसबीच हरेक दिन प्राप्त कागजात र सूचनाबारे सम्पादकहरूलाई ‘ब्रिफिङ’ गर्थें। सम्पादकद्वय रामेश्वर बोहरा र सुजित महत अब के गर्ने, कसरी लेख्ने र कसलाई भेट्ने भनी सुझाइरहन्थे। संगठनले गरेका सम्झौताहरूको कानूनी हैसियतमा प्रस्ट हुन नौ जना कानून व्यवसायीसँग पनि छुट्टाछुट्टै सल्लाह गरिरहेकी थिएँ।
२०७९ माघ ६ गते बालमन्दिरको जग्गामा विशाल ग्रूपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ शीर्षक राखेर समाचार प्रकाशन भयो। प्रतिक्रिया उस्तै नै थिए- कसैका चिन्ता, कसैका चेतावनी त कसैका स्याबासी। विशाल ग्रूप र कांग्रेसका नेताले फोन गरिरहे। पाँचतारे होटलमा भेट्न ‘अफर’ गरे। तर ‘केही भन्नु छ भने अफिसमै आउनू’ भनेपछि बिस्तारै फोन कम भयो।
![deepa dahal (8).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/deepa dahal/deepa dahal (8).jpg)
पहिलो रिपोर्ट छापिनासाथ म ‘फलोअप’मा लागिहालें। यही विषयमा अहिलेसम्म १७-१८ वटा समाचार लेखिसकें। पहिलो रिपोर्टले उठाएका दलीललाई ‘फलोअप’ले थप नप्रस्ट्याइँदासम्म आफूमाथि पनि प्रश्न नरोकिने भन्दै सम्पादकहरूले पनि घचघच्याइरहे। यो प्रकरणमा गत वैशाख २७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल संगठनका तत्कालीन पदाधिकारी सहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
पत्रकारिता भनेकै चुनौती
पत्रकारिता थाल्दा मलाई यो पेशा यति चुनौतीपूर्ण हुने थाहा थिएन। तर यसमै भिज्दै गएपछि सजिलै पाइनेभन्दा जोखिम मोलेर, मिहिनेत गरेर पाइने सूचनामै काम गर्न मन लाग्दो रहेछ। त्यसैले मेरो प्राथमिकता बढीजसो स्थलगत रिपोर्टिङ हुन्छ। भूकम्प, बाढीपहिरो, कोभिड-१९ सहितका महामारीका वेला पनि ठाउँमै पुगेर समाचार लेखें।
जाजरकोटमा फैलिएको स्वाइनफ्लूबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीसँग सूचना माग्दा भने, “तपाईंहरू कोठामा बसेर समाचार लेख्नुहुन्छ, त्यहीं गएर रिपोर्टिङ गर्नुभयो भने पो सत्यतथ्य आउँछ।”
यो कुरा मलाई निकै बिझ्यो। त्यति वेला अन्नपूर्ण पोस्ट्मा थिएँ।
जाजरकोट जाने कुरा सुनाउँदा सम्पादकले शुरूमा ‘मान्छे मरिरहेको ठाउँमा गएर रिपोर्टिङ गर्न सक्छौ र?’ भने। जान्छु भनेर आँट गरेपछि अनुमति दिए। जाजरकोट पुगेपछि थाहा पाएँ- त्यहाँ स्वाइनफ्लूले मात्र नभई दम र कुपोषणले पनि मानिसहरू उत्तिकै मरिरहेका रहेछन्।
पहिले पहिले दैनिकजसो लेख्नुपर्ने बाध्यताका कारण भने जसरी खोजमूलक रिपोर्टिङ गर्न पाइरहेकी थिइनँ। उकालोमा आएपछि भने लामो समय लगाएर यस्तो रिपोर्टिङ गर्ने वातावरण मिल्यो। मिडियाको स्पष्ट नीति, सहयोगी सम्पादक र ‘टीमवर्क’ भयो भने नतीजा पनि राम्रो दिन सकिंदो रहेछ।
हिजोआज कुनै पनि घटनाका सूचना सामाजिक सञ्जालमा तत्काल आइहाल्छन्। ती भ्रामक पनि हुन सक्छन्। त्यसैले हामीले अब घटना विवरण होइन, तिनको तथ्य समेत अध्ययन गरेर पाठकसम्म पुर्याउनुपर्ने भएको छ। कुनै पनि घटनाको गहिराइ पत्ता लाग्ने नै खोज समाचारबाटै हो। त्यो बाहिर ल्याउँदा कसैको बदमासी पनि खुलिरहेको हुन सक्छ। एउटा खोज पत्रकारले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र कानून निर्माणसम्ममा भूमिका खेलिरहेको हुन्छ।
यसबीच मैले महसूस गरेको कुरा के भने, रिपोर्टरले पनि आफ्ना तर्फबाट गर्नुपर्ने मिहिनेतमा कुनै सम्झौता गर्नु हुँदैन। सम्पादकहरू फुर्तिलो, आत्मविश्वासी र सधैं काम गर्न तत्पर हुने रिपोर्टर चाहन्छन्।
खोजमूलक पत्रकारिता गर्न परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण हुन्छ। किनकि यो पत्रकारिताले असीमित समय माग्छ। जतिसुकै वेला काममा खटिनुपर्ने हुन सक्छ। परिवारले यो बाध्यता बुझिदिनुपर्छ।
एक समय सँगै काम गरेका धेरै महिलासाथी अहिले पत्रकारितामा छैनन्। यसको कारण कतिपय सञ्चारमाध्यममा पत्रकार महिलाका लागि अनुकूल वातावरण नहुनु हो। अर्कातिर पत्रकार महिलाले पनि अवसर पाएको खण्डमा जस्तोसुकै काम गरेर देखाउने हिम्मत राख्नुपर्ने रहेछ। अनुकूल वातावरण र इच्छाशक्ति हुँदा महिलाले पनि जटिलभन्दा जटिल विषयमा पत्रकारिता गर्न सक्छन् भन्ने मलाई लाग्छ। निष्पक्ष पत्रकारिता गर्दा पाठक/दर्शकले पनि विश्वास गर्दा रहेछन्। त्यही विश्वासमा कतिपय सूचना उनीहरू आफैले पनि दिंदा रहेछन्।
कुनै दिन मलाई पनि पत्रकारितामा टिक्न निकै गाह्रो परेको थियो। महिला भएकै कारण विभिन्न व्यवधान आएकाले पेशा नै छाडिदिऊँ कि भन्ने पनि नलागेको होइन। तर जस्तोसुकै अवस्थामा पनि भिडेर काम गर्न छाडिनँ। हुन त ईखले राम्रो गर्दैन भनिन्छ। मलाई चाहिं ईखले नै यो पेशामा टिकाउन मद्दत गरे जस्तो लाग्छ।
(पत्रकार दाहालसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित। सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री :