हर्क साम्पाङको विरोधमा उत्रिए कोकाहा खोला क्षेत्रका बासिन्दा
![हर्क साम्पाङको विरोधमा उत्रिए कोकाहा खोला क्षेत्रका बासिन्दा](https://www.himalkhabar.com/uploads/posts/800X600/kokaha-khola-(6)-1716037430.jpg)
खानेपानीको पाइप बिछ्याउन श्रमदान गर्ने टोली सहित कोकाहा खोला पुगेका धरानका मेयर हर्क साम्पाङको स्थानीय बासिन्दाले विरोध गरेका छन्।
मेयर साम्पाङ ‘कोकाहा खोला-२’ योजना अन्तर्गत शनिबार बिहान श्रमदान गर्ने टोली सहित कोकाहा खोला पुगेका थिए। धरान-२० का बासिन्दासँग कुनै छलफल नगरी पाइप बिछ्याउन थालेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए।
स्थानीय बासिन्दा र साम्पाङको टोलीबीच केही बेर भनाभन भएको थियो। झडपको स्थिति आएपछि प्रहरी परिचालन गरिएको थियो।
प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा पुगेको टोलीले स्थिति नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नगर प्रहरीको टोली परिचालन गरेर स्थिति साम्य पारिएको डीएसपी राईले बताए। तथापि दुवै पक्षबीच धकेलाधकेल हुँदा एक जना घाइते भएका छन्।
यसअघि पनि मेयर साम्पाङले कोकाहा खोलाबाट पानी ल्याएका थिए। फेरि दोस्रो पटक पानी ल्याउन खोजेपछि विष्णुपादुकास्थित ज्यामिरेमा स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका हुन्।
![kokaha khola (3).jpg](https://www.himalkhabar.com/uploads/editor/government/local gov/dharan/kokaha khola (3).jpg)
धरान-२० का बासिन्दाले पानीको अभाव खेपिरहेको वेला समन्वय नै नगरी पानी लैजान खोजिएपछि विवाद भएको वडाध्यक्ष पदम लिम्बूले बताए। जनप्रतिनिधि र स्थानीय बासिन्दासँग समन्वय गर्नुपर्नेमा त्यस्तो नभएको उनको भनाइ थियो।
स्थानीय बासिन्दाले मेयर साम्पाङको टोलीलाई पाइप बिछ्याउन नदिएर धपाउन खोजेको थियो। वडाध्यक्ष लिम्बू र पूर्व वडाध्यक्ष मणिराम राई सहितले स्थानीय बासिन्दालाई शान्त पारेका थिए।
त्यसपछि झन्डै एक घण्टा भएको छलफलमा मेयर साम्पाङले आफ्नो गल्ती भएको स्वीकार गर्दै स्थानीय बासिन्दाको माग पूरा गर्ने सहमति गरेका छन्। पानीको माग लिएर नगरपालिका कार्यालय पुगेका महिलाको भिडिओ र फोटो चरित्रहत्या गर्ने उद्देश्यले भाइरल बनाइएकाले मेयर साम्पाङले माफी माग्नुपर्ने स्थानीयको माग थियो।
स्थानीयको माग अनुसार मेयर साम्पाङले सहमति गरेका छन्। अब उप्रान्त सामाजिक सञ्जालमा स्थानीय बासिन्दा विरुद्ध नबोल्ने भनी साम्पाङले प्रतिबद्धता जनाएका छन्।
![kokaha khola (1).jpg](https://www.himalkhabar.com/uploads/editor/government/local gov/dharan/kokaha khola (1).jpg)
त्यस्तै, स्थानीय बासिन्दाका लागि स्वारा क्षेत्रमा पानी व्यवस्थापन गर्न कोकाहा खोलाबाट पम्प मार्फत लिफ्ट गरेर रिजर्भ ट्यांकसम्म पानी पुर्याउने लिखित सहमति गरेका छन्।
यसैगरी, आगामी आर्थिक वर्षमा धरान-२० लाई प्राथमिकतामा राखेर पाँच करोड रुपैयाँ बजेट विनियोजनका लागि पहल गर्न पनि मेयर साम्पाङले सहमति जनाएका छन्। उनले स्थानीय बासिन्दालाई सम्बोधन गर्दै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसपछि मात्रै स्थानीय बासिन्दाले मेयर साम्पाङको टोलीलाई खानेपानीको पाइप बिछ्याउन दिएका थिए। कोकाहा खोला-२ योजना अन्तर्गत धरान बजार क्षेत्रमा पानी ल्याउन पाइप बिछ्याउन थालिएको छ।